Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    हलेसी तुवाचुङ : त्रुटीपूर्ण विज्ञापन खुलाएपछि...

    हलेसी तुवाचुङ : त्रुटीपूर्ण विज्ञापन खुलाएपछि...


    • बिहिवार, भाद्र १० २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : त्रुटीपूर्ण विज्ञापन खुलाएपछि...
    हलेसी तुवाचुङ नगरपालिका दुर्छिम खोटाङ

    खोटाङ । भदौ १०, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुर्यज्योती आधारभुत विद्यालयले शिक्षक पदपुर्तीका लागि त्रुटीपूर्ण विज्ञापन खुलाएको भन्दै आलोचना भएको छ ।

    रिक्त प्रावि तृतिय करार शिक्षक नियुक्तीका लागि विद्यालयले शिक्षण अध्यपन अनुमतिपत्र उल्लेख नगरी तथा गणित वा विज्ञान विषय शिक्षकको विज्ञापन आव्हान गरेपछि आलोचन भएको हो ।

    शिक्षक नियुक्तीका लागि अध्यापन अनुमतिपत्र अनिवार्य माग तथा पेश गर्नुपर्ने हुन्छ । यस्तै, प्रावि तहको शिक्षक नियुक्तीका क्रममा कुनै पनि विषय शिक्षक अनिवार्य नहुने व्यवस्था विपरित विज्ञापन आव्हान गरिएपछि प्रअको आलोचना भएको हो ।

    प्रावि तहका शिक्षक उमेशकुमार यादव सरुवा लिएर अन्यत्र गएपछि रिक्त स्थानमा अर्को शिक्षक नियुक्तीका लागि सुर्यज्योती प्राविले भदौ १ गते विज्ञापन खुलाएको थियो । विज्ञापनमा ‘आवश्यक कागजात’ उल्लेख गरेपछि सोही शव्दले अध्यापन अनुमतिपत्रलाई समेट्ने अर्थमा अध्यापन अनुमतिपत्र खुलाएर माग नगरिएको प्रअ भलबहादुर कार्कीले बताए ।

    प्रावि शिक्षकबाटै आधारभुत तहको गणित र विज्ञान विषय पठन–पाठन गर्नुपर्ने वाध्यताका कारण गणित र विज्ञान शिक्षक तोकेर विज्ञापन आव्हान गर्नुपरेको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षक नियुक्तीका लागि त्रुटीपूर्ण विज्ञापन निकालेपछि हलेसी तुवाचुङ नगरपालिकाले प्रअ भलबहादुर कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    विज्ञापनमा दरखास्त दिने उम्मेद्वारबाट नियमानुसार अध्यपन अनुमतिपत्र अनिवार्य गर्नुपर्नेमा अध्यपन अनुमतिपत्र पेश गर्न नभनिएको र प्राबि तहमा कुनै पनि विषय अनिवार्य नहुने अवगत हुँदाहुँदै उक्त विज्ञापनमा गणित वा विज्ञापन विषय अनिवार्य गरिएको विषयमा नगरपालिकाले प्रअ कार्कीलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    प्रअलाई २४ घण्टाभित्र नगरपालिकामा लिखित जवाफ पेश गर्न र सो विज्ञापन रद्ध गरी नगरपालिकाबाट विज्ञापनको ढाँचा स्वीकृत गराएर पुःन विज्ञापन गर्न आदेश दिइएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए ।

    नगरपालिकाको आदेश अनुसार प्रअ कार्कीले मंगलबार नै स्पष्टीकरण बुझाउनुका साथै सो विज्ञापन रद्ध गरेको सूचना टाँस गरिसकेका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल क्रान्तीकारीले समेत विज्ञाप्तीमार्फत त्रुटीपूर्ण विज्ञापन सच्याउन माग गरेको थियो ।

    २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल डेढ सय विद्यार्थी अध्ययनरत छन् । तर, नेपाल सरकारको दुई वटा र नगरपालिकाले व्यवस्था गरेको एक वटा शिक्षक दरबन्दीको भरमा पठन–पाठन सञ्चालन भइरहेको छ ।

    रिक्त दरबन्दीमा शिक्षक नियुक्ती गर्दा नेपाल सरकारको दरवन्दी संख्या तीन हुने छ । वरपरका पाँच/छ वटा गाउँका विद्यार्थी अध्ययन गर्न आउने विद्यालयले २०६५ सालदेखि आधारभुत तहको पठन–पाठन सुरु गरेको हो ।

    प्रावि दरबन्दीको भए पनि आधारभुत तहमा गणित र विज्ञान पढाइरहेका शिक्षक सरुवा भएपछि त्यसको पुर्तीका लागि विज्ञापनमा गणित र विज्ञापन उल्लेख गर्नु परेको प्रअ कार्कीले बताए । उनले नगरपालिकालाई बुझाएको स्पष्टीकरणमा पनि सो कुरा उल्लेख गरेका छन् ।

    पढाइरहेका शिक्षक सरुवा भएपछि एक/डेढ महिनादेखि आधारभुत तहको गणित र विज्ञान विषयको पढाइ हुन सकेको छैन । कोभिड–१९ को महामारी भए पनि सो विद्यालयमा भौतिक दुरी कायम गरेर कक्षा सञ्चालन गर्ने गरिएको बताइएको छ ।

    हाल सो विद्यालयमा मावि तहको कक्षा सञ्चालनका लागि भौतिक संरचना बनिसकेको भए पनि शिक्षक दरबन्दी भने न्यून छ । ‘हामी माबि चलाउन सक्छौंँ, शिक्षकको दरबन्दी चाहियो भनेर प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश सांसद राजन राई, रामकुमार राईलाई भनेँ, केही लागेन,’ प्रअ कार्कीले भने, ‘सबैको आँखाले नदेख्ने ठाउँमा विद्यालय परे । कसैले वास्ता गरेनन् ।’

    सम्बन्धित समाचार