बिहिवार, भाद्र १० २०७८
नेपाल वाइड
काठमाण्डौ । जनगायक (जेबी) टुहुरेको निधन भएको छ । जुठबहादुर खड्गी टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।
टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए ।
उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …’ निकै चर्तित छ ।
राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।