शुक्रवार, भाद्र १८ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १८, कोभिड–१९ को महामारीकाबिचमा खोटाङको खोटेहाङ गाउँपालिकाले पठन–पाठन सुचारु गराएको छ । पछिल्लो समय कोभिड–१९ को संक्रमण दर केही कम हुँदैगएपछि अवरुद्ध पठन–पाठन बिहिबारदेखि सुचारु गराइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
९ वडा रहेको गाउँपालिकाभित्रका ९ माबि, १० आधारभुत र ३० प्राविमा विहान र दिउँसोको सिफ्ट बनाएर पठन–पाठन सुचारु गरिएको हो । शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षादेखि कक्षा ५ सम्मको पठन–पाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको छ ।
यस्तै, शिक्षक संख्या र विद्यार्थी संख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठन–पाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
तर, कक्षा ६ देखि कक्षा ८ तथा कक्षा ९ र कक्षा १० को पठन–पाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
विद्यार्थी सिकाई निरन्तरताका लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुशार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै/गराउँदै पठन–पाठन सुचारु गर्नका लागि गाउँपालिकामा सिफारिस गरेको थियो ।
गाउँशिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठन–पाठनलाई सुचारु गराइएको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक बेञ्चमा दुई जना मात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाई सहजीकरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँपालिकाले प्रअलाई दैनिक कक्षा निरिक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भए सियूजी वा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबिचमा अन्तरक्रीया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिने, सिकाई सहजीकरण लगायत सियूजी सेवाको प्रयोग र प्रभावकारिता लगायतका विषयमा विव्यास, विद्यालय प्रशासन र अभिभावकबिचमा अन्तरक्रीया गर्ने व्यवस्थाका लागि वडा शिक्षा समितिलाई निर्देशन दिएको छ ।
गाउँपालिकाको निर्देशन अनुसार विद्यार्थी सिकाई सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले भदौ १५ गते बैठक राखेको थियो । वडा शिक्षा समितिको बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि विद्यालयमा सचेतता अपनाउने लगायतका निर्णय गरेको जनाएको छ ।
खोटेहाङ गाउँपालिकामा ४९ सामुदायीक विद्यालय बाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, ४ वटा स्वअध्यन केन्द्र तथा २ वटा संस्थागत विद्यालय छन् ।