शनिवार, भाद्र १९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १९, खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित नेपाल टेलीकमको टावरमा उपकरण जडानमा ढिलाई हुँदा सेवाग्राही मारमा परेका छन् ।
खार्पा र दुबेकोलमा नेपाल टेलीकमको टावर ठडिएको तीन/चार वर्ष विते पनि आवश्यक उपकरण जडानमा ढिलाई हुँदा सेवाग्राही मारमा परेका हुन् । खार्पामा २०७४ सालमा र दुवेकोलमा २०७६ सालमै टावर ठडिएको भए पनि टेलीकमले आवश्यक उपकरण जडानमा ढिलासुस्ती गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो ।
दुवेकोलको टावर भने गाउँपालिकाको आग्रहमा टेलीकमले निर्माण सुरु गरेको थियो । टेलीकमकै आग्रहमा दुबै टावरसम्म सडक तथा विद्युत विस्तार गरिदिए पनि आवश्यक उपकरण जडान नगर्दा टावरले काम नगरेको गाउँपालिकाले जनाएको छ ।
खार्पा र दुबेकोलको टावरको काममा ढिलासुस्ती हुँदा गाउँपालिकाको केन्द्र हरम्टारमा समेत भनेकोबेला फोन नलाग्ने समस्या छ । विशेषगरी गाउँपालिकाको तल्लो क्षेत्रमा फोन नलाग्ने समस्याले स्थानीय आजित छन् ।
राम्ररी फोन नचल्ने समस्यकै कारण कोभिड–१९ को महामारीका समयमा अनलाईन कक्षा सञ्चालन गर्न नसकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहाल (राजु)ले बताउनुभयो ।
टावर बने पनि कोभिड–१९ को महामारीका कारण विदेशबाट रेडियो इक्वीपमेन्ट ल्याउन ढिलाइ भएकाले सेवा सुरु गर्न ढिलाइ भएको नेपाल टेलीकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो ।
यस्तै, हुमापोखरीस्थित नेपाल टेलीकमको टावरमा समस्या आउँदा जन्तेढुंगा गाउँपालिकामा दुई सातादेखि टेलीफोन सेवामा समस्या आएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुमापोखरीमा रहेको टावरमा विद्युत आपुर्ती नहुँदा फोन सेवामा खरावी आएको हो ।
विद्युत नभएको समयका लागि राखिएको सोलारले समेत काम गर्न छाडेकाले फोनमा समस्या निम्तिएको टेलीकमले जनाएको छ । टेलीकम टावरमा विस्तार गरिएको विद्युतको ट्रान्सफर्मर बिग्रिएकाले समस्या आएको नेपाल टेलीकम ओखलढुंगाका प्रमुख पन्थीले बताउनुभयो ।