Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गीत

    हाम्रो नेर्पा

    हाम्रो नेर्पा


    • शनिवार, भाद्र १९ २०७८

    • नेपाल वाइड


    हाम्रो नेर्पा
    डा. धनप्रसाद सुवेदी

    हाम्रो नेर्पा

    संसारमा हाम्रो आफ्नै एउटा गाउँ छ

    यो हो ‘नेर्पा’ सायद स्वर्ग यस्तै ठाउँ छ ।

    रुपाकोट र रमितेले पहरा दिएको

    छेपेमेवा भुल्भुलेले सहारा दिएको

    खेतीयोग्य सुन्दर भूमि हाम्रो नेर्पा गाउँ

    प्रकृतिको साँच्चै वरदान पाएको यो ठाउँ ।

    संसारमा ...........

    हिलेखर्क काउछे रामपुर सँगै गुरुङ गाउँ

    आलु मिठो राडीपाखी भेँडीगोठको ठाउँ

    बोराटोल माम्खा रोज्कु सँगै गैरीगाउँ

    अन्नबाली तरकारी र अलैँचीको ठाउँ ।

    संसारमा ...........

    माथ्लो टोल मोहोरिया पल्खु तल्टो टोल

    प्रकृतिको विविधता कति अनमोल

    मानेडाँडा नजिकैमा स्कुल अफिस हाम्रा

    सानीबेँसी नादुम बेँसी अन्न भण्डार हाम्रा ।

    संसारमा ...........

    मेवापारि भुल्के गाउँ प्रकृतिको घर

    भुल्भुलेका देवदेवी माग्नु दिन्छन् वर

    बेँसीटोल कति राम्रो उर्वरभूमि हाम्रो

    वरबोटे, पैरे टोल फलफूल खेती राम्रो

    संसारमा ...........

    कलमको धराहरा अहा कति राम्रो

    शिक्षा र सिर्जनाको प्रतीक हो हाम्रो

    जीवजन्तु, हरियाली, जमिन र पानी

    यिनैमा छ निर्भर हाम्रो सारा जिन्दगानी

    संसारमा ...........

    किरात पुर्खा मेरपाले बस्ती बसाएको

    पुर्खाहरुकै पसिनाले उर्वर बनाएको

    साकेलामा नाच्छौँ हामी देउसी भैलो खेल्छौँ

    सङ्गिनी र सेलो गाउँछौँ मारुनीमा नाच्छौँ ।

    संसारमा ...........

    नेर्पा हाम्रो पुर्खाभूमि जन्मभूमि हाम्रो

    जहाँसुकै पुगौँ तर, आफ्नै गाउँ राम्रो ।

    त्यहीँ छ हाम्रो इतिहास पहिचान पनि

    यही गाउँलाई सधैँ उर्वर बनाउँछौँ हामी ।

    संसारमा हाम्रो आफ्नै एउटा गाउँ छ

    नाम ‘नेर्पा’ सायद स्वर्ग यस्तै ठाउँ छ ।

     

    सम्बन्धित समाचार