Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    निजामती सेवा दिवस : दिप्रुङका उत्कृष्ट तीन कर्मचारी पुरस्कृत

    निजामती सेवा दिवस : दिप्रुङका उत्कृष्ट तीन कर्मचारी पुरस्कृत


    • मंगलवार, भाद्र २२ २०७८

    • नेपाल वाइड


    निजामती सेवा दिवस : दिप्रुङका उत्कृष्ट तीन कर्मचारी पुरस्कृत
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाललाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरिदै। तस्बिर सौजन्य : मनिचन्द्र राई

    खोटाङ । भदौ २२, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाललाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरेको छ ।

    गाउँपालिकाले १८ औं निजामती सेवा दिवसको अवशरमा मंगलबार गाउँपालिकामा कार्यरत निजामती कर्मचारी मध्येबाट प्रमुख प्रशासकीय अधिकृत दाहाललाई १० हजार राशीको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो ।

    २०७५ साल मंसिर १७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको संमृद्धि, विकास र अग्रगमनका लागि हरेक प्रकारका आरोह अवरोहरुको सामना गर्दै सेवा प्रवाहमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो । उत्कृष्ट कर्मचारीको सम्मान र प्रोत्साहनमा गाउँपालिका आफैले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार स्थापना गरेको जनाएको छ ।

    यस्तै, गाउँसभा सदस्य स्वर्गीय नारायणप्रसाद श्रेष्ठको स्मृतिमा स्थापना गरिएको स्मृति कोषको व्याजबाट अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याव असिस्टेन्ट सविना तामाङ र वडा सचिव सञ्जिव आचार्यलाई नगद १०/१० हजार सहित पुरस्कृत गरिएको छ ।

    Sanjib Charya.jpg

    स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोष वापतको पुरस्कार लिँदै वडा सचिव सञ्जिव आचार्य । तस्बिर सौजन्य : मनिचन्द्र राई

    कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर टोल–टोलमा पुगेर एन्टीजेन परिक्षण गर्दै महामारी रोकथाम तथा नियन्त्रणमा पुर्‍याएको योगदानको कदर गर्दै ल्याव असिस्टेन्ट तामाङलाई पुरस्कृत गरिएको हो ।

    यस्तै, ७ वडाका सचिवमध्येबाट उत्कृष्ट कार्य सम्पादन गरेवापत आचार्यलाई स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोषवापतको पुरस्कार प्रदान गरिएको हो । २०७८ साल बैसाख ७ गते निधन भएका श्रेष्ठको स्मृतिमा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ३ लाखको स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोष स्थापना गरेको थियो ।

    Tamang Puraskrti.jpg

    स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोष वापतको पुरस्कार लिँदै अस्थायी कोभिड अस्पताल याम्खाकी ल्याव असिस्टेन्ट सविना तामाङ । तस्बिर सौजन्य : मनिचन्द्र राई

    निर्वाचित वडासदस्य श्रेष्ठको चीरकाल पर्यान्त सम्झना गर्ने र पुरस्कारको माध्यमबाट निजामती कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारी र कार्यप्रति थप उत्साह र हौसला प्रदान गर्ने लक्ष्यका साथ स्मृति कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत दाहाल, ल्याव असिस्टेन्ट तामाङ र वडा सचिव आचार्यलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, वडाध्यक्ष इन्द्रबहादुर बस्नेत र स्वर्गीय श्रेष्ठकी छोरी तारा श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

    पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगीता

    निजामती सेवा दिवसको अवशरमा गाउँपालिकाले पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा पुरुषतर्फ गाउँपालिका कर्मचारी प्रथम, प्रहरी चौकी दिप्रुङ चुईचुम्मा दोश्रो, महिलातर्फ स्वास्थ्य चौकी छोरम्बु प्रथम र अस्थायी कोभिड अस्पताल दोश्रो भएका छन् ।

    प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः नगद ५ हजार र ३ हजारका साथमा ट्रफी प्रदान गरिएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए ।

    Badminton.jpg

    निजामती सेवा दिवसको अवशरमा गाउँपालिकाद्धारा आयोजित पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगीता । तस्बिर सौजन्य : मनिचन्द्र राई

    सम्बन्धित समाचार