बिहिवार, भाद्र २४ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राही छनौटमा भएको त्रुटी सच्याइएको छ ।
सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाई सरिसकेका, अर्काको घरको तस्बिर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेस भएको खबर सार्वजनिक भएपछि उनीहरुको नाम हटाएर वास्तवित लाभग्राहीको नाम सिफारिस गरिएको छ ।
सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेस भएको, बसाई सरेर अन्यत्र गइसकेका, अर्काको घरको तस्बिर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि त्रुटी सच्याइएको हो ।
पाथेकामा हुँदै नभएका खइबहादुर राईको ठाउँमा विधवा तुलसकुमारी राईलाई, अन्यत्र बसाई सरिसकेका तुलसी गिरीको सट्टा विधवा बुद्धिसिला राईलाईलाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रुपमा सिफारिस गरिएको वडाध्यक्ष मुगाधन राईले बताए ।
यस्तै, पाथेकाकै निरकुमार राईको नाम लाभग्राहीको सूचीमा दोहोरो परेपछि त्यस ठाउँमा विधवा इन्द्रकुमारी बिकलाईको नाम पनि थप गरिएको छ । उनीहरुले सम्झौता गरेर काठपात जुटाउन सुरु गरिसकेका छन् ।
सोही वडामा अरुको घरको तस्बिर पेश गरेर लाभग्राहीको सूचीमा राखिएका दिनेश राईको नाम हटाइएको छ । खर तथा फुसको छाना हटाउने अभियान अन्तरगत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।
यस्तै, खार्मीमा हुँदैनभएको ललितबहादुर श्रेष्ठको ठाउँमा निरकुमारी भुजेललाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रुपमा सिफारिस गरिएको छ ।
सुुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि खार्मीका लागि २९ जनाको कोटा निर्धारण गरेको थियो । तर सो सुचीमा हुँदैनभएको व्यक्तिको नाम समावेस भएर आएको वडाध्यक्ष रामचन्द्र राईले बताए ।
खार्मीका वडाध्यक्ष कांग्रेस र पाथेकाका वडाध्यक्ष तत्कालिन संघीय समाजवादीबाट निर्वाचित भएका हुन् । राजनैतिक आस्थाका आधारमा वडासँग समन्वय नगरी एकलौटी सुरक्षित नागरिक आवास कार्यक्रमको लाभग्राही छान्ने काम हुँदा समस्या निम्तिएको पाथेका र खार्मीका वडाध्यक्ष बताउँछन् ।