शनिवार, भाद्र २६ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाईन कक्षामा सहभागीताका लागि रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाईन कक्षामा सहभागीता जनाइरहेका छन् ।
छात्र मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुँदैआएको बताए ।
विद्यालयले साउन २४ गतेदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गरेको हो । तर, नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव थिएन ।
कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन् । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोजेर भेट्टाएका हुन् । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन । अन्तमा एउटा रुखको फेदमुनि बसेर चेक गरेँ ।
त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होलान् भनेर रुखमा चढेँ । नभन्दै अझ राम्रो कनेक्सन देखायो । जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाईन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’ पढाईप्रति उनले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ । डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ ।
कक्षामा धनकुमार चौथो/पाँचौं स्थानमा छन् । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती माबि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए ।
सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको छ । आगामी असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ ।
१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । उनका भाई नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाई आमासँग बसिरहेका छन् ।