मंगलवार, भाद्र २९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २९, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । असहमती जनाउँदा–जनाउँदै वडाबासीको अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको, एउटा प्लट जग्गा देखाएर दुई ठाउँको जग्गा वडा कार्यालयको नाममा पास गरेर ढाँट्ने काम गरिएको लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयले सोमबार वडा कार्यालयमा लगाएको ताला मंगलबार खोलिएको हो ।
वडा कार्यालयमा लगाइएको ताला प्रहरी परिचालन गरेर खोलिएको हो । ताला खोलेपछि कर्मचारीले नियमित काम गरिरहेको सोल्माका वडाध्यक्ष हर्क खत्रीले बताउनुभयो ।
जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा गएका स्थानीयले वडा कार्यालयमा ताला लगाएका थिए ।
वडा कार्यालय सोल्मामा ताला लागेको यो दोश्रो पल्ट हो । वडा कार्यालयको स्थान छनौटका विषयमा असहमती जनाउँदै आएका स्थानीयले गत असार ५ गते लगाएको ताला भदौ १५ गते प्रहरी परिचालन गरेर खोलिएको थियो ।
सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदैआएको अवस्थामा डाँडागाउँमा वडाको पक्की भवन बनाइएको हो । सोल्मामा स्थायी रुपमा वडा कार्यालय राख्ने विषयमा सुरुदेखि बिवाद छ ।
अन्तिममा असहमतीकै बीच वडा कार्यालयलाई स्थायीरुपमा डाँडागाउँमा राख्ने टुंगो लगाइएकाले विरोध जनाउनु परेको स्थानीय एवं जसपाका जिल्ला सदस्य नछुङले बताउनुभयो । अवरोधकै कारण वडाको कतिपय सामग्री हालसम्म नयाँ भवनमा सार्न सकिएको छैन । वडा कार्यालयको भवन बनाइएको जग्गा साँढे तीन रोपनी छ ।
सोभन्दा करिब तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको असन्तुष्ट स्थानीय बताउँछन् । वडा कार्यालयको भवन निर्माणका लागि तीन स्थानको जग्गा प्राप्त भएपछि उपयुक्त जग्गा छनौटका लागि नगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएकामा सेटिङमा एउटै कित्ता भन्दै अपायक पर्ने दुई कित्ता जग्गा पास गराइएको नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष राईले बताउनुभयो ।
फरक–फरक स्थानमा भएको खण्ड जग्गाको सट्टा प्लट भएको जग्गा छनौटका लागि महिना दिनको समयसीमा दिइएको भए पनि बेवास्ता गरिएको कांग्रेस वडा सभापति पुरीले बताउनुभयो ।
गत बैसाख १८ गते नै उद्घाटनको तयारी गरिएको वडा कार्यालयको भवन कोभिड–१९ को महामारी एवं कतिपय स्थानीयकै विरोधका कारण रोकिएको छ । वडाध्यक्ष खत्रीले भवन निर्माण भइसकेपछि अड्को थाप्नुको अर्थ नभएको बताए । अर्कातर्फ नेकपामा फुट आएपछि वडाको स्थान र भवन सम्वन्धी विवाद थप पेचिलो बनेको हो ।