मंगलवार, भाद्र २९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २९, शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँग अन्तरक्रीया गरेको छ ।
राज्यको लगानी अनुसार शैक्षिक प्रतिफल प्राप्त हुन नसकेको सन्दर्भमा गाउँपालिकाले मंगलबार शैक्षिक गुणस्तर सुधारका लागि सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँग अन्तरक्रीया गरेको हो ।
शैक्षिक गुणस्तर घट्दो रहेको अवस्थामा स्थानीय सरकार, विद्यालय, अभिभावकबाट भएका कमीकमजोरी पत्ता लगाउँदै सच्याउने तथा अनुभव आदान–प्रदानका माध्यमबाट नमूना अभ्यासको सिको गर्ने/गराउने लक्ष्यका साथ अन्तरक्रीया आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
अन्तरक्रीया कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष एवं भगवती माबिका प्रअ कुमार पराजुलीले नमूना विद्यालयको अभ्यास, सवल पक्ष र शिक्षकले पालना गर्नुपर्ने आचार संहिताको बारेमा प्रअलाई सहजीकरण गरेका छन् ।
यस्तै, सिमपानी माबिका प्रअ कृष्णप्रसाद घिमिरेले भाषा शिक्षण समस्या र समाधानका बारेमा, गाउँपालिकाका शिक्षा अधिकृत एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबाठकुरी रिजालले आइइएमआइएस, स्थानीय पाठ्याक्रम र तलवी प्रतिबेदनका बारेमा, प्रास राजकुमार खड्काले अनुगमनमा देखिएका सवल र दुर्वल पक्ष र सुधार गर्नुपर्ने विषय तथा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले शैक्षिक गुणस्तर सुधारका लागि लगानी र शिक्षकहरुको पेशाप्रति जिम्मेवारीका विषयमा सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष राईले अन्तरक्रीया कार्यक्रममा उठेका सवालको जवाफ दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा खोटेहाङ गाउँपालिकाले प्रअसँग कार्य सम्पादन सम्झौता गरेको छ । शैक्षिक गुणस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले गाउँपालिकाभरीका ४९ वटा सामुदायीक र २ वटा संस्थागत विद्यालयका प्रअसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको हो ।
गाउँपालिका अध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको रोहवरमा प्रथम पक्षका रुपमा गाउँपालिकाका शिक्षा अधिकृत बाबाठकुरी रिजाल अधिकारी र दोश्रो पक्षका रुपमा सम्वन्धित विद्यालयका प्रअले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
गाउँपालिकाले सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँग आयोजना गरेको अन्तरक्रीया कार्यक्रमकाक्रममा ।