आइतवार, आश्विन ३ २०७८
नेपाल वाइड
खोटाङ । असोज ३, शिक्षक संगठनले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका हरेक माबिमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यकासाथ गरिएको दरबन्दी मिलानको निर्णय यथाशिघ्र कार्यान्वयनको माग गरेको छ ।
हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउनेगरी नगरपालिकाले दरबन्दी मिलान गरे पनि कतिपय माविमा प्राशि तथा निमाशि शिक्षक नै प्रअका रुपमा कार्यरत रहेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर समितिले आफ्नो निर्णय दुरुस्त कार्यान्वयनका लागि नगनरपालिकाको ध्यानाकर्षण गराएको हो ।
नगर शिक्षा समितिले सबै माबिमा माबि तहकै स्थायी प्रअलाई प्रअको जिम्मेवारी दिने निर्णय गरेको र सो निर्णय अदालतबाट समेत सदर भइसकेपछि निर्णय कार्यान्वयन हुनुपर्नेमा नगरका पाँच माविमा प्राशि र निमाशि शिक्षक नै प्रअका रुपमा कार्यरत रहेको दुई शिक्षक संगठनले जनाएको छ ।
नगरपालिकाका हरेक माबिमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यकासाथ गरिएको दरबन्दी मिलान विरुद्ध परेको रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले भदौ २४ गते खारेज गरिदिएपछि विज्ञाप्तीमार्फत शिक्षक संगठनको यस्तो धारणा आएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिका अध्यक्ष नयनकुमार राई र एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर समिति अध्यक्ष दिलिप वाम्बुले राईले शुक्रबार विज्ञाप्ती जारी गर्दै निमाशि टिकाराज राई प्रअ रहेको बुलापन्थे माविमा माबि स्थायी पदमबहादुर कार्कीलाई प्रअ बनाइनुपर्ने, प्राशि सरिता राई प्रअ रहेको पिपलडाँडा देविस्थान माविमा मावि स्थायी खम्बराज राईलाई प्रअ बनाइनुपर्ने र निमाशि गमराज राई प्रअ रहेको दाम्ली माबिमा मावि स्थायी विष्णु राईलाई प्रअ बनाइनुपर्ने उल्लेख गरेको छ ।
यस्तै, निमाशि तेजकुमार राई प्रअ रहेको च्यास्मीटार माबि र मावि राहत शिक्षक प्रकाश तिमल्सिना प्रअ रहेको मालिकादेवी माविमा तत्काल मावि स्थायी शिक्षकलाई प्रअ नियुक्तीको व्यवस्था गर्न माग गरिएको छ ।
नगरपालिकाले च्यास्मीटार माविमा पठाएका नयनकुमार राई अदालत पुगेपछि सो मुद्धा हाल विचाराधिन अवस्थामा छ । माबि स्थायी कार्की भने नगरपालिकाका शिक्षा शाखा संयोजक छन् ।
‘केही माविमा नगरपालिकाको निर्णय र अदालतको फैसला अनुसार मावि स्थायी शिक्षकलाई प्रअ बनाइएको छैन,’ एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर कमिटि अध्यक्ष राईले भने, ‘अदालतको फैसला अनुसार नगर शिक्षा समितिको निर्णय हदम्यादभित्र दुरुस्त कार्यान्वयनका लागि जोडदार अपिल गर्दछौँ ।’
अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा असार २४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले पक्षपातपूर्ण ढंगले महेन्द्रोद्धय माबि हलेसी, सरस्वती माबि अर्खौैले र ज्योती मावि राजापानीका निमित्त प्रअलाई बर्खास्त गरिएको अशिष्ट पत्र पठाएको शिक्षक संगठनले उल्लेख गरेको छ ।
नगर शिक्षा शाखाबाट त्यी तीन वटै विद्यालयको बैंक खाता रोक्का गर्दा कोभिड व्यवस्थापनमा समेत गम्भीर असर परिरहेको जनाइएको छ । कतिपय निमित्त प्रअमाथि राजनैतिक आस्थाको आधारमा व्यवहार गरिएको शिक्षक संगठनको दावी छ ।
२०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले २०७७ साल पुस १ गते दरबन्दी मिलान गर्दै सबै माविमा मावि तहकै शिक्षक पठाउने र तिनै मावि शिक्षकलाई प्रअको जिम्मेवारी दिलाउने निर्णय गरेको थियो । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले माविमा मावि तहकै स्थायी शिक्षकलाई पठाउने निर्णय गरेको जनाएको छ ।
प्रावि वा आधारभुत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्या गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माबिमा स्थायी शिक्षकको व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभुत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ । उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोवल समेत उच्च हुने नगरपालिकाले दावी गरेको छ ।
नगरपालिकाबाट राजनैतिक आस्थाको आधारमा शिक्षकको विभेदपूर्ण सरुवा गर्ने निर्णय गरिएको भन्दै नगरवासी प्रदिप राई, शेषकुमार पौडेल र अकिल राईले २०७७ साल पुस ९ गते उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा रिट दायर गरेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले पनि शिक्षक दरबन्दी मिलान तथा शिक्षक सरुवा मौजुदा क्रियासिल ऐन, कानून, शिक्षक सरुवा शिक्षा नियमावली, २०५९ को नियम ९८ विपरित र दरबन्दी मिलान शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ मा भएको व्यवस्था प्रतिकुल रहेको भन्दै बिरोध जनाउँदै आएको छ । ११ वडा रहेको नगरपालिकामा १२ वटा माबि छन् ।