सोमवार, आश्विन ४ २०७८
नेपाल वाइड
खोटाङ । असोज ३, कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बन्द गरेको हाटबजार खुला गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैसाख १३ गतेदेखि बन्द गरिएका साप्ताहिक हाटबजार खुला गरिएको हो ।
कोभिड–१९ को संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको भदौ २७ गतेको निर्णय तथा कोभिड–१९ संक्रमण तथा नियन्त्रण स्थानीय कार्यदलको आइतबारको बैठकको निर्णय अनुसार सामाजिक/भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गराउने व्यवस्था सहित हाटबजार खुला गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमीबजारमा हरेक सोमबार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सूचना जारी गर्दै करिब चार महिनादेखि बन्द रहेका हाटबजार खुला गरिएको जानकारी दिएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने/गराउने निर्णय गरेको थियो । गत वर्षको लकडाउनकाबेला दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खेर जाने अवस्थाका तरकारी खरिद गरेर राहतकारुपमा बाँडेको थियो ।