Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सामाजिक सुरक्षा भत्ता

    साकेला : सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरण

    साकेला : सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरण


    • बिहिवार, आश्विन ७ २०७८

    • नेपाल वाइड


    साकेला : सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरण
    सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरणका लागि गाँउगाँउ पुगेका पालिकाका कर्मचारीको टोली ।

    खोटाङ । असोज ६, खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने एक हजार १६५ लाभग्राहीको नामावली नवीकरण गरेको छ ।

    पाँच वडा रहेको गाउँपालिकामा यसअघि कायम १ हजार ३९६ जना लाभग्राहीमध्ये २३१ कम लाभग्राहीको नाम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिष्टममा नवीकरण गरिएको हो ।

    विभागले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही वा नयाँ दर्ता गर्ने लाभग्राहीको नाम सिष्टममा नवीकरण गर्ने/गराउने समय भदौ मसान्तसम्म दिएको थियो ।

    कतिपय लाभग्राहीको मृत्यु भएको तथा दोहोरो लगत कट्टा गरिएका कारण नवीकरणका क्रममा लाभग्राहीको संख्या घटेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।

    Sakela 3.jpg

    सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरणका लागि गाँउगाँउ पुगेका पालिकाका कर्मचारीको टोली ।

    गाउँपालिकाका अनुसार यसअघि ४३३ लाभग्राही रहेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ३३५ जना, २८४ लाभग्राही रहेको साकेला गाउँपालिका–२ रतन्छामा २५५ जना, १६९ लाभग्राही रहेको साकेला गाउँपालिका–३ खिदिमामा १५२ जना, २७१ लाभग्राही रहेको साकेला गाउँपालिका–४ मात्तिममा २३७ जना र २३९ लाभग्राही रहेको साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङमा १८६ जना लाभग्राही कायम गरिएको छ ।

    सामाजिक सुरक्षा भत्ता लिँदै आएका लाभग्राहीको नामावली नवीकरण तथा नयाँ लाभग्राहीको नाम सिष्टममा दर्ता गर्नका लागि बाँझेच्यानडाँडाको सेखुवा, बाँझे, पिपलडाँडा र डाँडागाउँ तथा मात्तिमविर्तामा ६ दिने नविकरण शिबिर सञ्चालन गरिएको थियो ।

    अन्य वडामा भने सम्वन्धित वडा आफैले नवीकरण फारम संकलन गरी सामाजिक सुरक्षा शाखाले लाभग्राहीको नामावली अद्यावधिक गरेको सामाजिक सुरक्षा शाखा प्रमुख राईले बताए ।

    भदौ मसान्तसम्ममा नामावली नवीकरण गर्न वा नयाँ दर्ता गर्न छुटेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले पुःन आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    Sakela 2.jpg

    सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम नवीकरणका लागि गाँउगाँउ पुगेका पालिकाका कर्मचारीको टोली ।

    सामाजिक सुरक्षा भत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको खुलासा भएको केही समयपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि बैंकमार्फत सम्वन्धित व्यक्तीको हातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ ।

    साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

    वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान नै चलाएको थियो ।

    सम्बन्धित समाचार