शनिवार, आश्विन १६ २०७८
नेपाल वाइड
खोटाङ । असोज १६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविका छात्र/छात्रा स्थानीय पाठ्याक्रममा रम्न थालेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु शैक्षिक–सत्रदेखि स्थानीय पाठ्याक्रम कार्यान्वयनमा ल्याएपछि सरस्वती माबिका छात्र/छात्रा रमाईलो गर्दै पठन–पाठनमा सहभागी हुन थालेका हुन् ।
स्थानीय पाठ्याक्रम अन्तरगत हाल नेवार समुदायको लट्ठी नाच सम्वन्धी पठन–पाठन सुरु गरिएको सरस्वती माविका कक्षा शिक्षक नूरकाजी शैंजूले बताए ।
स्थानीय पाठ्याक्रमको पठन–पाठनका क्रममा विद्यालयको छतमा सामुहिक रुपमा लट्ठी नाच नाच्दा रमितलाग्दो दृश्या देखिन्छ । झट्ट हेर्दा लट्ठी नाचले लाखेजात्राको सम्झना दिलाउँछ । लट्ठी नाच नेवार समुदायको साँस्कृतिक नाच हो ।
लाखेजात्राका बेला नेवार समुदायले नाच्ने लट्ठी नाच विद्यालयमा नाच्दा कतिपय अलमलमा पनि पर्ने गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय पाठ्याक्रममा विभिन्न जातजातीको साँस्कृतिक सम्पदा सम्वन्धी विषयवस्तु समावेश गरेको छ ।
सोही पाठ्याक्रम अनुसारको पठन–पाठनका क्रममा विद्यार्थीलाई नेवार समुदायको लट्ठी नाच नचाउन थालिएको शिक्षक शैंजूले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय पाठ्याक्रम प्रकाशन गरी विद्यालयमा पुग्न बाँकी नै छ ।
तर, स्थानीय पाठ्क्रमका विषयमा केही समयअघि नगपालिकाले आयोजना गरेको गोष्ठीमा दिइएको जानकारी अनुसार स्थानीय पाठ्याक्रमको रुटिन व्यवस्था गरेर पठन–पाठन सुरु गरिएको हो ।
स्थानीय पाठ्याक्रममा विद्यार्थी रमाइलो मान्दै सिक्ने गरेका छन् । लट्ठी नाचले विद्यार्थीको संस्कृति सम्वन्धी बुझाई, सीप र कलामा विकास हुनुका साथै शारीरिक कसरत समेत हुने गरेको छ ।
स्थानीय पाठ्याक्रमले अन्य समुदायका विद्यार्थीलाई नेवार समुदायको संस्कृतिका बारेमा जानकारी लिन मद्धत मिलेको कक्षा ५ मा अध्ययनरत छात्रा अर्चना खत्री बताउँछिन् ।
खोटाङमा १० स्थानीय तह छन् । तर, स्थानीय तह कार्यान्वयनमा आएको चार वर्ष वित्न लाग्दा समेत स्थानीय पाठ्याक्रम कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने कार्याकालको अन्तिम चरणमा स्थानीय पाठ्क्रम तयार गरेर लागू गरेको हो ।