मंगलवार, आश्विन १९ २०७८
नेपाल वाइड
खोटाङ । असोज १९, खोटाङमा रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलीकमले पकेट वाईफाई डिभाईस प्रदान गरेको छ ।
कोभिड–१९ को महामारीकाबेला अनलाईन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलीकम ओखलढुंगाले एक थान पकेट वाईफाई डिभाईस उपलव्ध गराएको हो ।
छात्र मगर सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित फोरजीको नयाँ टावर अनएयर गरेसँगै नेपाल टेलीकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले छात्र मगरको घरैमा पुगेर पकेट वाईफाई डिभाईस प्रदान गरेका हुन् ।
बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै छात्र मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ ।
पुःन महामारी भएको अवस्थामा उपयोग गर्न र इन्टरनेटमा उपयोगी शैक्षिक सामग्री ‘सर्च’ गरेर अध्ययनमा सहयोग पुर्याउनका लागि टेलीकमले सीम हालेर चल्ने पकेट वाईफाई डिभाइस प्रदान गरेको हो ।
अनलाईन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने वाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको नेपाल टेलीकम ओखलढुंगाका प्रमुख पन्थीले बताए । नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलीकमले जनाएको छ ।
कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।
छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएका थिए । रुखमा डेरा बनाएर अध्ययनमा इच्छाशक्ती देखाएका छात्र मगरको जताततै चर्चा चलिरहेको छ ।
विद्यालयले २४ साउनदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । तर, अर्खौलेको नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो । कनेक्ट भइहाले जुम एप्स चलाउन सम्भव थिएन ।
कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन् । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखलाई भेट्टाएको बताए । पढाईप्रति मगरले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ ।
कक्षामा धनकुमार दोश्रो स्थानमा छन् । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तीले गर्व महसुस गराएको सरस्वती माबि अर्खौलेका प्रअ नविन चाम्लिङले बताए ।
सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गराइएको छ ।