सोमवार, आश्विन २५ २०७८
नेपाल वाइड
खोटाङ । असोज २५, खोटाङको साकेला गाउँपालिकाले घुम्ती शिबिरमार्फत ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।
पाँच वडा रहेको गाउँपालिकाले भुक्तानी शिबिरमार्फत ४७२ लाभग्राहीलाई आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिकमा निकासा भएको सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
कुल १ हजार १८८ लाभग्राही रहेको गाउँपालिकामा अशक्त र अपांगता भएका लाभग्राहीलाई लक्षित गर्दै भुक्तानी शिबिर सञ्चालन गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए ।
गाउँपालिकाले नेपाल एसबीआई बैंक साकेला शाखामार्फत १७ असोजदेखि २४ असोजसम्म वडा–वडामा भुक्तानी शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
१७ असोजमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको वडा कार्यालयबाट ६७ जना, १८ असोजमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा डाँडागाउँबाट ७८ जना, १९ असोजमा साकेला गाउँपालिका–२ रतन्छा वडा कार्यालयबाट १२५ जना, २० असोजमा साकेला गाउँपालिका–३ खिदिमा वडा कार्यालयबाट ४४ जना, २२ असोजमा साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयबाट ७५ जना र २४ असोजमा साकेला गाउँपालिका–५ मात्तिम वडाकार्यालयबाट ८३ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।
कुल १ हजार १८८ लाभग्राहीका लागि चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा १ करोड ११ लाख १८ हजार ५०९ रुपैयाँ सामाजिक सुरक्षाभत्ता निकासा भएको थियो ।
हिँडडुल गर्न सक्ने र आफै बैंक पुग्न सक्ने लाभग्राहीले भने आफै बैंकमा पुगेर सामाजिक सुरक्षाभत्ता बुझिरहेको गाउँपालिकाले जनाएको छ । भुक्तानी शिबिरमा नेपाल एसबीआई बैंकको साकेला शाखा मेनेजर असिम इङ्नाम, सामाजिक सुरक्षा शाखा प्रमुख चाम्लिङ लगायतको खटिएका थिए ।