शुक्रवार, कार्तिक ५ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ५, बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध हुँदा स्थानीय मारमा परेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण कच्ची सडकमा सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा दशैं तिहारलागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका हुन् ।
कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढि प्रभाबित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्ने गरिएको छ ।
बेमौसरी वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।
वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् ।
बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ ।
हाल खोटाङका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । बाईक हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।
अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतीमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतीमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ ।
वर्षाका कारण साविकको सदरमुकाम दिक्तेलबजारकै सडक हिलाम्मे बन्ने गरेको छ । दिक्तेलबजारको हाटडाँडादेखि सिँचाईगेटसम्मको सडक खण्ड ढलानमा ढिलाइ हुँदा र वर्षाको पानीले हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भइरहेको छ ।
हालसम्म दिक्तेलबजारको रत्नपार्कदेखि पुरानो बेस क्याम्पसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ । हाटडाँडादेखि त्रिबेणीचोक हुँदै पुरानो बेस क्याम्पसम्मको खण्ड ढलान गर्न बाँकी छ । त्यसमध्ये टेलीकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन् ।
टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सुर्य विकास जेभी लाहानको ढिलासुस्ती देखिएको छ । भएका काममा पनि गुणस्तर कायम नभएको नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।