Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बचत अपचलनपछि सहकारी अध्यक्ष लगायतको सम्पत्ति रोक्का

    बचत अपचलनपछि सहकारी अध्यक्ष लगायतको सम्पत्ति रोक्का


    • शुक्रवार, कार्तिक १२ २०७८

    • नेपाल वाइड


    खोटाङ । कात्तिक १२, प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था दिक्तेलका अध्यक्ष लगायतको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको छ ।

    आफुखुसी सहकारीको रकम अपचलन गरेको पाइएपछि सहकारीकै सञ्चालकको आग्रहमा सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी तथा उनका बुवा र भाईको नाममा रहेको अचल सम्पत्ती रोक्का गर्ने निर्णय गरेको हो ।

    करिब तीन करोड रकम आफुखुसी अपचलन भएको पाइएपछि तत्कालिन अध्यक्ष जोशी तथा उनका परिवारका सदस्यको नाममा हलेसी, दिक्तेल र काठ्माण्डौंमा रहेको जग्गा प्रदेश रजिष्ट्रारको कार्यालय इटहरीले रोक्का गरेको सहकारीका कार्यबाहक अध्यक्ष तुलसी आचार्यले बताए ।

    तत्कालिन अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणबाट गत बैसाखमा मृत्यु भइसकेको छ । उनको मृत्यु भएको केही समयपछि सञ्चालक समिति, लेखा समिति र शेयर सदस्यले छानविन तथा खोजी गर्दा सहकारीको रकम अपचलनको विषय बाहिरिएको हो ।

    दिक्तेलमा १० मंसिर २०७२ देखि लालुपाते सहकारी संस्थाले कारोवार सुरु गरेको थियो । सहकारीको विगत दुई वर्ष यताको सम्पत्ति र दायित्वको अडिट र साधारणसभा नगरेको पाइएपछि अडिट तथा साधारणसभा सकेर ऋण उठाउने र बचतकर्तालाई फिर्ता गर्ने कसरत थालिएको कार्यबाहक अध्यक्ष आचार्यले बताए ।

    हाल ऋण तिर्नका लागि ऋणीलाई पत्र पठाउने काम भइरहेको सहकारीले जनाएको छ । ऋणीले ऋण तिर्नका लागि अटेर गरेमा ऋणीको जग्गा सहकारी ऐन अनुसार रोक्का गरेर लिलामको प्रकृया अघि बढाइने कार्यबाहक अध्यक्ष आचार्यले बताए ।

    ‘हिनामिना गरेका व्यक्तिबाट रकम असुल उपर गर्ने र सबै ऋणीबाट ऋण उठाएर बचतकर्तालाई फिर्ता गर्नका लागि सञ्चालक समिति अहोरात्र खटिइरहेको छ,’ आचार्यले भने, ‘अझै पनि सहकारीसँग करोडौंको सम्पत्ती छ । लगानीकर्ताले आत्तिनु पर्ने अवस्था छैन । यसबाट पार पाउनका लागि धैर्य र सहयोगको आग्रह गर्दछौँ ।’

    सहकारी रजिष्ट्रारले सहकारीका सञ्चालक र कर्मचारीलाई प्रदेशमा बोलाएर साधारणसभाको निर्णय बमोजिम तत्काल रकम असुलीको कारवाही अघि बढाउन निर्देशन दिइसकेको छ ।

    सहकारी रजिष्ट्रारले सहकारीलाई लगानीकर्ताको बचत फिर्ता गर्नसक्ने अवस्थमा पुर्‍याउन सहजीकरण गर्ने जनाइएको छ । सहकारीका लागि जग्गा खरिद गर्ने भन्दै तत्कालिन अध्यक्ष जोशीले परिवारको सदस्यको नाममा जग्गा पास गरेको देखिएको आचार्यले बताए ।

    सम्बन्धित समाचार