शनिवार, कार्तिक १३ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १३, राष्ट्रिय जनगणनाका लागि खोटाङमा २९० गणक छानिएका छन् । आगामी कात्तिक २५ देखि ९ मंसिरसम्म सञ्चालन हुने मुख्य जनगणनाकालागि आवश्यक गणक छानिएका हुन् ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा खटिने गणकको छनौटदेखि नियुक्तीको प्रकृया पुरा गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।
गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ । स्थानीय जनगणनाको कार्यालय कुभिन्डे अन्तरगत खार्पा, स्थानीय जनगणनाको कार्यालय हलेसी अन्तरगत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङबजारमा गणकका लागि तालिमको आयोजना गरिएको हो ।
खोटाङमा राष्ट्रिय जनगणना अन्तरगत करिब ४२ हजार घर तथा घर परिवार सूचीकरण भएको छ । गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर परिवार सूचीकरण अन्तरगत करिब ४२ हजार घर तथा घर परिवारको सूचीकरण भएको हो ।
जनगणनाका क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घर परिवारको मूख्य गणना हुने जनगणना अधिकारी कोईरालाले बताए । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्य २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।