बुधवार, कार्तिक १७ २०७८
नेपाल वाइड
खोटाङ । १७ कात्तिक, काठ्माण्डौंमा निर्माण गरिने नाछिरिङ राई समुदायको रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सा सार्वजनिक गरिएको छ । काठ्माण्डौं गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सा नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यापुस्तक विमोचन कार्यक्रमको अवशरमा सार्वजनिक गरिएको हो ।
२ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा साँढे तीन तले रिदुम खिम निर्माणको तयारी गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताए ।
किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एबं प्रर्बधनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो । रिदुम खिम निर्माणका लागि हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङबाट २० लाख ३७ हजार रुपैयाँ संकलन भइसकेको छ । यस्तै, गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख प्राप्त भएको छ ।
सोही भवन निर्माणका लागि आदिवासी जनजाती उत्थान प्रतिष्ठानबाट २० लाख सहयोगको प्रतिवद्धता जुटेको केन्द्रका अध्यक्ष नाछिरिङले बताए । चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माणको काम पुरा गरिने केन्द्रले जनाएको छ । खिम निर्माणका लागि ७५ लाख ७५ हजारमा ६ आना जग्गा खरिद गरिएको थियो ।
मुल घरमा मान्दै आएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वाताबरण बनाउने, जन्म, मृत्यु, वैवाहिक लगायतका संस्कार गर्ने, संसारभर छरिएर रहेका नाछिरिङ राईलाई संगठित गर्ने, नाछिरिङ राईको भाषिक, संस्कार, संस्कृतिको एकिकरण गर्ने लगायतका लक्ष्यका साथ रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखामकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताईन् ।
‘चुला घर (रिदुम खिम) नहुँदा धेरैले मुन्धुमी संस्कार अनुसार बिवाह, जन्म संस्कार र मृत्यु संस्कार गर्न पाइरहेका छैनौं । जसले गर्दा हामी दिन प्रतिदिन अन्य धर्मको सिको गर्दै आफनो मौलिक संस्कारलाई बिर्सिदै गइरहेका छौँ,’ उपाध्यक्ष नाछिरिङले भनिन्, ‘यही तथ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले हाम्रो मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिई सभ्य समुदायको परिचय दिन रिदुम खिम (मुन्धुम घर) निमार्णको तयारी थालिएको हो ।’
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।