Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नाछिरिङको मुन्धुम घर निर्माणका लागि काठ्माण्डौंमा खेलिए देउसी

    नाछिरिङको मुन्धुम घर निर्माणका लागि काठ्माण्डौंमा खेलिए देउसी


    • सोमवार, कार्तिक २२ २०७८

    • नेपाल वाइड


    नाछिरिङको मुन्धुम घर निर्माणका लागि काठ्माण्डौंमा खेलिए देउसी
    नाछिरिङ राईको रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि देउसी खेलिँदै । तस्बिर सौजन्य : गान्धिव किराती ।

    खोटाङ । कात्तिक २२, काठ्माण्डौंमा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि नाछिरिङ समुदायले देउसी खेलेका छन् । गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रले देउसी खेलेका हुन् ।

    साखामको कार्यालय नारायणचोक, अतिथि किचन, कपनमा आइतबार आयोजना गरिएको देउसीबाट भवन निर्माणार्थ २ लाख ६९ हजार ८४० रुपैयाँ रकम संकलन भएको किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताए ।

    देउसीको दानबाट १ लाख १४ हजार ४८०, सोलु सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर नाछिरिङबाट १ लाख र साखामका आजिवन सदस्य सोताङ–१ निवासी निरकुमार नाछिरिङबाट ५ हजार दान प्राप्त भएको छ ।

    यस्तै, सोताङका हरिबाबु राई नाछिरिङबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको साखामले जनाएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बिरकुमार नाछिरिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोलु सोताङ गाउँपालिका अध्यक्ष नाछिरिङ, ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।

    किरात रदु नाछिरिङ साखाम केन्द्रका लागि २ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा साँढे तीन तले रिदुम खिम निर्माणको तयारी गरिएको छ । किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एबं प्रर्बधनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो ।

    १३ कात्तिकमा भवनको थ्रिडि नक्सा सार्वजनिक गरिएको थियो । रिदुम खिम निर्माणका लागि यसअघि नै नाछिरिङ तथा गैर–नाछिरिङबाट २० लाख ३७ हजार रुपैयाँ संकलन भइसकेको छ ।

    यस्तै, गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख बजेट प्राप्त भएको छ । सोही भवन निर्माणका लागि आदिवासी जनजाती उत्थान प्रतिष्ठानबाट २० लाख सहयोगको प्रतिवद्धता जुटेको केन्द्रले जनाएको छ । चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माणको काम पुरा गरिने केन्द्रले जनाएको छ । खिम निर्माणका लागि ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरिएको थियो ।

    मुल घरमा मान्दै आएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वाताबरण बनाउने, जन्म, मृत्यु, वैवाहिक लगायतका संस्कार गर्ने, संसारभर छरिएर रहेका नाछिरिङ समुदायलाई संगठित गर्ने, नाछिरिङको भाषिक, संस्कार, संस्कृतिको एकिकरण गर्ने लगायतका लक्ष्यका साथ रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखामकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताईन् ।

    ‘चुला घर (रिदुम खिम) नहुँदा धेरैले मुन्धुमी संस्कार अनुसार बिवाह, जन्म संस्कार र मृत्यु संस्कार गर्न पाइरहेका छैनौं । जसले गर्दा हामी दिन प्रतिदिन अन्य धर्मको सिको गर्दै आफनो मौलिक संस्कारलाई बिर्सिदै गइरहेका छौँ,’ उपाध्यक्ष नाछिरिङले भनिन्, ‘यही तथ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले हाम्रो मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिई सभ्य समुदायको परिचय दिन रिदुम खिम (मुन्धुम घर) निमार्णको काम अघि बढाइएको हो ।’

    सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।

    सम्बन्धित समाचार