राई जातिको भाषा र संस्कृति पूर्ण रूपमा एकीकृत र पूर्ण रूपमा भिन्न पाइँदैन । राईभित्र प्रयोग हुने विभिन्न भाषाका शब्दहरूमा रूपावली मात्रै भिन्न हुन पुगेको भाषाशास्त्रीको अनुसन्धानबाट देखिएको छ ।
राईहरूका भाषाबीच आपसमा नमिल्ने शब्द अत्यन्त कम रहेको पाइन्छ । कतिपय शब्दहरू एउटै अर्थ र एउटै उच्चारणका छन् । राई जातिभित्र बोलिने भाषाको शब्द फरक भेटिन सक्छ, तर व्याकरणको संरचना भिन्न रहेको पाइँदैन । यस जातिभित्र प्रयोग गरिने शब्द फरक भए पनि एउटा राई भाषासँग नमिल्ने शब्द कुनै न कुनै अर्को राई भाषासँग मिल्न जान्छ ।
एउटै पुर्खाका सन्तानहरू छुट्टिएर बेग्लाबेग्लै ठाउँमा बसोबास गरेर लामो समयसम्म सम्पर्कविच्छेद हुँदा भौगोलिक रूपमा अलग तथा अन्य जातिसँग घुलमिलको प्रभावले भाषामा मात्रात्मक भिन्नता आएको मात्र हो । अन्यथा प्रारम्भमा राईहरूको भाषा एउटै थियो भन्ने कुरा बोलचालमा रहेको राई भाषाले देखाउँछ ।
साझा संस्कृति
राई जातिको भाषा मात्रै होइन, संस्कृति र इतिहास पनि मौलिक रूपमा एकै देखिन्छ । प्रत्येक राई जातिले दुईपटक विवाह गर्छ । ससुरालीमा ज्वाइँलाई शारीरिक काम गराएर तालिम दिइन्छ । विवाहमा बागदत्ता काटिन्छ । त्यस्तै पाछा र सामेत छुटाएर अन्तरवंशमा कुटुम्ब चलाउने प्रथा सबै राईमा रहिआएको छ ।
ढुकुरको गाँडमा अन्नको बीउ भेटिएको लोककथा सबैमा राईमा प्रचलित छ । माछा मार्ने बल्छीमा झुन्डिएर आएको ढुङ्गो खोक्चिलिपकी श्रीमती बनेको मिथक साझा छ । मृत्यु हुँदा कालगति मृत्यु, अकाल मृत्यु, सुत्केरी मृत्यु र बालमृत्यु गरेर ४ प्रकारको संस्कार सबै राईले अँगालेको छ ।
आदिम पुर्खाहरू पारुहाङ, तयामा–खियामा र खोक्चिलिपलाई सृष्टिपुर्खा मानिन्छ । भूमि पूजा गर्ने, तीनवटा ढुङ्गोको चुलो पुज्ने, विवाहमा कलिया राख्ने, मृत्यु संस्कारमा दफन गर्ने, मृतात्मालाई विदाइ गर्ने संस्कार साझा छ ।
साझा इतिहास, साझा उद्गमभूमि
ऐतिहासिक र सांस्कृतिक उद्गमभूमिको रूपमा बराहक्षेत्र, खुवालुङ, जायजुम इत्यादि स्थानसँग सबै राई जातिको ऐतिहासिक सम्बन्ध जोडिन्छ । यो साझा इतिहास पनि हो र साझा उद्गमभूमि पनि । इतिहासको कुरा मात्रै होइन, राई जातिको वर्तमान बसोबास साझा भूगोलका रूपमा रहेको छ । राई होइनौं भनेर प्रमाणित गर्ने आधारको अभाव छ ।
कुलुङको बसोबास भूमि पनि राई जातिको उद्गम भूमिभन्दा अलग रहेको छैन । राईको आनुवंशिक जाति होइन भने कसरी कुलुङले राई जातिको भूमिमाथि किपट जमाएर बस्न पायो ? कुलुङ छुट्टै पहिचान भएको जाति हुन् र राई होइन भनेर कुलुङले भन्छ भने माथि उल्लेखित ऐतिहासिक, सांस्कृतिक र भौगोलिक साझापनदेखि अलग रहन सक्छ ? स्वतन्त्र भाषा, संस्कृति र इतिहास पेश गर्न सक्छ भने ठीकै छ, कुलुङलाई राईबाट मुक्त गरौं न त भन्न सकिन्छ । तर, त्यस्तो स्वतन्त्र हुने आधार केही प्रस्तुत गरिएको देखिँदैन ।
भाषाको नाम फरक भए पनि साम्पाङ, नाछिरिङ, सोताङ, पिल्मोङ र कुलुङले बोल्ने भाषामा तात्विक भिन्नता छैन । राईबीच कसैसँग अलिअलि भाषा फरक र कसैसँग अलिअलि संस्कार फरक हुन्छ ।
कुलुङ र खालिङको़ संस्कृतिमा एकरूपता पाइन्छ । भाषा र संस्कृतिमा देखिएको सामान्य अन्तर भनेको भौगोलिक प्रभाव हो, त्यसलाई मौलिक भिन्नता मानिँदैन । आफूलाई राई होइन भनेर दाबी गर्छ भने राई जातिले पुज्ने चुलोढुङ्गो प्रत्येक कुलुङको घरबाट उखेलेर फाल्न सक्छ ?
कुलुङ शब्द जातिबोधक हो भन्ने के के प्रमाण प्रस्तुत गरिएको छ ? ऐतिहासिक प्रमाणको अभावमा कल्पनिक कुरा सिर्जना गर्नु गलत हो ।
राजा यलम्बरका सन्तानमध्ये एक हो राई । कुलुङले पनि आफूलाई यलम्बरसँग जोड्ने गर्दछन् । राईबाट अलग हुन कुलुङले आफूलाई यलम्बरको अनुवंशदेखि अलग रहेको इतिहास पेश गर्नुपर्छ । राईबाट अलग हुन कुलुङले आफ्नो उद्गमभूमि खम्बुवानभन्दा अलग देखाउन सक्नुपर्दछ ।
राई भनेको त राजा/शासकबोधक, इतिहासमा सत्ताको नेतृत्वकर्ता भन्ने अर्थ दिने शब्द हो । राई शब्द राज्य निर्माणकर्ताबोधक हो । त्यसैले राई लेख्नु त गर्वको विषय हो ।