मंगलवार, कार्तिक २३ २०७८
नेपाल वाइड
खोटाङ । २३ कात्तिक, चाडवाडको मौका पारेर खोटाङमा यात्रुबाट तोकिएभन्दा बढि भाडा असुल गर्ने यातायात व्यवसायीबाट भाडा फिर्ता गराइएको छ । जिल्लाको ऐसेलुखर्क र बाक्सिलाबाट काठ्माण्डौं जाने क्रममा ना १ ज ६२११ र ना १ ज ६४६० नम्बरको टाटासुमो गाडीले तोकिएभन्दा जनही २५० रुपैयाँ बढि भाडा लिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीको टोलीले बढि भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराएको हो ।
बाक्सिला र ऐसेलुखर्कबाट काठ्माण्डौं जानेक्रममा जनही २ हजार भाडा लिनुपर्नेमा जनही २ हजार २५० रुपैयाँ भाडा उठाइएको पाइएपछि तोकिएभन्दा बढि लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
ऐसेलुखर्कबाट काठ्माण्डौंका लागि छुटेको टाटासुमोले १० जना र बाक्सिलाबाट छुटेको टाटासुमोले ९ यात्रु बोकेको प्रहरीले जनाएको छ । एउटा टाटासुमोलाई नुनथला र अर्को टाटासुमोलाई अर्खौले चेकपोष्टमा रोकेर बढि लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको डिएसपी लम्सालले बताए ।
दुबै टाटासुमो गाडीलाई चाडपर्वको मौका पारेर यात्रुसँग तोकिएभन्दा बढि भाडा असुल गरी काठ्माण्डौं जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा फेला पारी तोकिएभन्दा बढि लिएको रकम सम्वन्धित यात्रुलाई फिर्ता गराएर सवारी चालकलाई सवारी नियमानुसार जरिवाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालयले मंगलबार जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।
चाडपर्वको समयमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाइएका चार वटा बस, एक वटा ट्याक्टर, १७ वटा मोटरसाईकल, पाँच वटा टाटासुमोलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक जरिवाना गराएको प्रहरीले जनाएको छ ।