बुधवार, कार्तिक २४ २०७८
नेपाल वाइड
खोटाङ । २४ कात्तिक, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका किसान भलराज राईले जंगलबिचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले ७ वर्ष अघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् ।
उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँसपानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रा पालनमा छोरा नविन, रविन लगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रबिनले बताए ।

यस्तै, २४ वर्षीय युवा किसान दिपेश राई (बम्बू)ले पनि फिर्कुमा व्यवसायीक रुपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर २०७०/०७१ देखि व्यवसायीक रुपमा बाख्रा पालन सुरु गरेका हुन् ।
बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरुले गोठबाट छ/सात महिनाको बोको र पठेक्री विक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्हो हुने भएकाले बोको र पठेक्री विक्री गर्ने गरिएको दिपेशले बताए । ‘गर्दा हुँदो रहेछ ।
बाख्रा पालनबाट खान, लाउन र दुई चार रुपैयाँ खल्तीमा राख्न समस्या छैन,’ दिपेशले भने, ‘घरैमा बसि–बसि वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँच/सात महिनाको बोको १२–१५ हजारमा बिक्री हुन्छ । मेहनत गर्न सके दुई÷चार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’

गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बु लगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् ।

च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ । बिराली लहरा, हाडे, धयाँरी लगायतका घाँस प्रशस्त पाईने ठाउँमा उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । उनीहरु बाख्रा चराउन करिब तीन/चार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुर्याउने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् ।
आफ्नो गाउँ–ठाउँमा भएको सम्भावनालाई पहिचान गरेर बाख्रा पालन गर्दै आर्थिक उपार्जन गरिरहेका युवाको तारिफ हुने गरेको छ । उनीहरुको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।
