शनिवार, कार्तिक २७ २०७८
नेपाल वाइड
खोटाङ । २७ कात्तिक, बौद्धिक समुह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा पुर्वप्राथमिक र प्राथमिक तहको शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी गरेको छ ।
काठ्माण्डौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समुहले च्यास्मीटारका पुर्वप्राथमिक र प्राथमिक तहका शिक्षक/शिक्षिकाको शिक्षण कला विकासमा सघाउ पुर्याउनका लागि लागि वाल मनोविज्ञानमा आधारिक शिक्षण सम्वन्धी कार्यशाला गरेको हो ।
पुर्वप्राथमिक र प्राथमिक तहका शिक्षकशिक्षिकालाई वाल मनोविज्ञानमा आधारित शिक्षण क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय सामग्री प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी वनाउने विधि अपनाउन उत्प्रेरित गर्न तीन दिने कार्यशाला गोष्ठी गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

विद्यार्थीलाई कक्षामा रमाउँदै सिक्ने वातावरण सिर्जना गर्दै शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्याउने लक्ष्यका साथ शैक्षिक कार्यशालाको आयोजना गरिएको बौद्धिक समुहले जनाएको छ ।
हालसम्म अधिकांश शिक्षक/शिक्षिका विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप गर्न र शैक्षिक सामग्री प्रयोगमा अल्छी मान्ने गरेको अवस्थालाई मध्यनजर गर्दै समुहले च्यास्मीटारमा पुर्वप्राथमिक र प्राथमिक तहका शिक्षक/शिक्षिकाका लागि शैक्षिक कार्यशाला आयोजना गरेको हो ।

पुर्वप्राथमिक र प्राथमिक तह शिक्षाको जग भएकाले जगलाई बलियो बनाउनमा शिक्षक/शिक्षिकाले विशेष मेहनत गर्नुपर्ने बौद्धिक समुह नेपालका उपाध्यक्ष बेलबहादुर रानाले जोड दिए ।
च्यास्मीटार माबिमा आयोजना गरिएको तीन दिने कार्यशाला गोष्ठीमा सहभागी शिक्षक/शिक्षिकालाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले कक्षाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधिका बारेमा सहजीकरण गरेकी छन् ।
प्रशिक्षक लामालाई समुहका सचिव कल्याणी घले र अर्थ व्यवस्थापन प्रमुख/सदस्य एलिसा लामाले सहयोग गरेकी थिईन् । शुक्रबार सम्पन्न कार्यशालामा वडाभित्रका वालबिकास केन्द्र, पुर्वप्राथमिक र प्राथमिक तहका १० विद्यालयका ३८ शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो ।

कार्यशाला समापन कार्यक्रममा बौद्धिक समुह नेपालका अध्यक्ष राईले यस वर्ष च्यास्मीटार माविबाट एसइईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने एक छात्र र एक छात्रालाई छात्रबृत्तिमा पठन–पाठनको व्यवस्था गर्ने घोषणा गरेका छन् । जिल्लाका अन्य विद्यालयले माग गरे शिक्षण सम्वन्धी कार्यशाला आयोजना गरेर सहयोग गर्ने बौद्धिक समुहले जनाएको छ ।

शिक्षण सम्वन्धी कार्यशाला समापन कार्यक्रमको अवशरमा बौद्धिक समुह नेपालले शिक्षा, समाज सेवा र पत्रकारिताका क्षेत्रबाट समाज परिवर्तनमा योगदान पुर्याउने दर्जनौं व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

समुहले सेवा निवृत्त भए पश्चात पनि शिक्षण पेशामा आवद्ध भएर आफ्नो गाउँ–ठाउँको शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउने शिक्षक चिजबहादुर राई, कुलबहादुर अधिकारी, डिल्लीधन राई, शुक्रबहादुर राई, लम्बरबहादुर राई, समाजसेवी जनकराज राई, उपेन्द्र घिमिरे, च्यास्मीटार मावि, वडा कार्यालय र च्यास्मीटार उमावि भूतपुर्व विद्यार्थी तथा सरकोकार मञ्चलाई सम्मान प्रदान गरेको हो । व्यक्ति तथा संस्थालाई हलेसी तुवाचुङ नगरपालिकाका शिक्षा शाखाका संयोजक पदम कार्कीले प्रमुख अतिथिका रुपमा सम्मान–पत्र प्रदान गरेका थिए ।

यस्तै, सितिमि मासिकका सम्पादक तिलक चाम्लिङ, पत्रकार दमन राई, खगेन्द्र राई (अमेरिका), प्रिया तिलुङ (अष्ट्रेलिया) र शुशिला राईलाई कदरपत्र प्रदान गरिएको छ । समुहले कार्यशालाका सहजकर्ता लामा र च्यास्मीटार माविलाई मायाँको चिनो प्रदान गरेको छ । सोही कार्यक्रममा विभिन्न विद्यालयलाई गणितसँग सम्वन्धित शैक्षिक सामग्री प्रदान गरिएको बौद्धिक समुह नेपालले जनाएको छ ।
सोही कार्यक्रममा विभिन्न विद्यालयलाई गणितसँग सम्वन्धित शैक्षिक सामग्री प्रदान गरिएको बौद्धिक समुह नेपालले जनाएको छ । कार्यक्रममा दलका प्रतिनिधि, प्रअ, व्यवस्थापन समितिका प्रतिनिधि लगायतले बोलेका थिए ।
