बिहिवार, मंसिर २ २०७८
नेपाल वाइड
खोटाङ । २ मंसिर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ ।
विक्रम संवत २००६ साल साउन २६ गते जन्म भइ २०७८ साल भदौ ५ गते निधन भएका शिक्षक राईको स्मृतिमा स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठान बनाउने तयारी गरिएको हो ।
स्वर्गीय शुभसेर राईको ९० औं दिनको पूण्य तिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको हो ।

केही समयपछि स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठान बनाउने र सोही प्रतिष्ठानमार्फत अक्षयकोष खडा गर्दै बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्नेगरी पुरस्कार स्थापनाको तयारी गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव मिनकुमार दाहालले बताए ।
श्रद्धाजलीसभामा स्वर्गीय राईका जेठा छोरा एवं नेकपा एमालेका जिल्ला उपाध्यक्ष देवबिक्रम राईले शुभसेर राई स्मृति प्रतिष्ठानमार्फत सञ्चालन हुने अक्षयकोष स्थापनाका लागि परिवारकातर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ दिने घोषणा गरेका छन् ।
सो अक्षयकोष स्थापनाका लागि एमालेका सचिव कुमार आचार्य र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नूरकाजी सैंजुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कवि जसराज किरातीले शुभसेरको स्मृति प्रकाशन गर्ने जानकारी दिएका छन् । अक्षय कोषका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले कम्तीमा ५० हजार उपलव्ध गराउने निर्णय गरिसकेको जनाएको छ ।
अक्षयकोषबाट आउने व्याजबाट हरेक वर्ष स्वर्गीय शिक्षक राईको पुण्यतिथिका दिन जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई कम्तीमा ६० हजारको पुरस्कार प्रदान गरिने नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव दाहालले बताए ।
स्वर्गीय शिक्षक राईले सहयोगी प्रावि बुईपा छिप्ती, बिणा माबि लिकुवापोखरी र चम्पावती मावि बुईपामा ४१ वर्ष ७ महिना शिक्षण पेशामा विताएका थिए । उनलाई जिल्लामै सबैभन्दा लामो अवधिसम्म शिक्षण गर्ने शिक्षकका रुपमा चिन्ने गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राईले बताए ।

शुभसेरले नेपाल राष्ट्रिय शिक्षक संगठनको तीन कार्यकाल जिल्ला अध्यक्ष र एक कार्यकाल कार्यबाहक अध्यक्षको भूमीका निर्वाह गरेका थिए । २०३७ सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका राई लगत्तै कार्यबाहक अध्यक्ष बनाइएका थिए ।
उनी २०४० सालदेखि २०४३ साल, २०४७ सालदेखि २०५० साल र २०५६ सालदेखि २०६२ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेको संगठनका सचिव दाहालले जनाए । कार्यक्रममा सहभागी दलका नेता, शिक्षक संगठनका प्रतिनिधि लगायतले स्वर्गीय शुभसेरको शैक्षिक योगदानका विषयमा चर्चा गरेका थिए ।
