बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, कांग्रेसको जिल्ला अधिबेसनले गराएको जमघटले खोटाङका होटल व्यववसायीले राहत महसुस गरेका छन् । कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटलहरु कांग्रेस अधिबेसनका कारण चलायमान बन्न पुगेको छ । कोभिड–१९ को महामारीका कारण घाटा बेहोरीरहेका होटल सञ्चालकलाई अधिबेसनका कारण भएको जमघटले राहत मिलेको होटल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईले बताए ।
पाँच/छ दिन यता दिक्तेलबजारका होटल व्यवसायीलाई ग्राहकको सेवामा भ्याईनभ्याई छ । दिक्तेलबजारका दर्जनौं होटलका कोठा बुक भएका छन् । कांग्रेसको अधिबेसनले छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष राईले बताए ।
कांग्रेसको जिल्ला अधिबेसनका लागि क्षेत्रीय कार्य समिति (प्रदेश ख)बाट कम्तीमा १ हजार ३०० भन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । त्यी प्रतिनिधिसँग अन्य नेता तथा कार्यकर्ता समेत भेला भएका छन् ।
त्यसमा पनि ६ मंसिरका लागि तोकिएको जिल्ला अधिबेसन चुनावी प्रकृयाका कारण तीन/चार दिन लम्बिदा सबैभन्दा बढि होटल व्यवसायीलाई फाईदा मिलेको छ । होटल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूला गरी १६० वटाको हाराहारीमा होटलहरु सञ्चालनमा छन् ।
अधिबेसनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ–फुडिङमा कम्तीमा १३/१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । दिक्तेलमा फुडिङमा दैनिक ६ लाख, खाजा र नास्तामा ३ लाख र लजिङमा ४ लाख आम्दानी भइरहेको छ ।
व्यानर र उम्मेद्वार कार्ड छपाई, पेय पदार्थ लगायतमा पनि उत्तिकै खर्च छ । उद्योग बाणिज्य संघ खोटाङका पुर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड–१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो ।
कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिबेसन हलेसी र (प्रदेश ख)को अधिबेसन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिबेसनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् ।
‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिबेसनले केही राहत दिएको छ । पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख खर्च हुन पुगेको देखिन्छ,’ पुर्व अध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बिचमा दुईदेखि अढाई करोडको व्यापार भएको आँकलन गरिएको छ ।’