आइतवार, मंसिर १२ २०७८
नेपाल वाइड
खोटाङ, १२ मंसिर । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटो सहितको मतदाता नामावली संकलनको तयारी थालिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलनको तयारी गरिएको हो ।
फोटो सहितको मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी नासु लोकेन्द्रकुमार राईले बताए ।
जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ईलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकाको हकमा मतदाता नामावली संकलन कार्यतालिका बनाइएको हो ।
१७ मंसिरदेखि २६ मंसिरसम्म केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम गरिने छ ।
यस्तै, २९ मंसिरदेखि ९ पुससम्म ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
फोटो सहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइने छ । चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउनेछ भने सम्वन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति (दर्ता स्थल व्यवस्थापक), एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी मागिने सूचना अधिकारी राईले बताए ।
मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले मतदाता नामावली संकलनलाई सफल बनाउन दललाई आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
स्थानीय तहका जनप्रतनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । यस अनुसार आगामी चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुनाले जिल्लामा मतदाता नामावली संकलनको तयारी थालिएको हो ।