Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पिल्मो अर्थात पिल्मोछा जाती

    पिल्मो अर्थात पिल्मोछा जाती


    • सोमवार, मंसिर १३ २०७८

    • जेबी पिल्मो


    पिल्मो अर्थात पिल्मोछा जाती
    संकलनकर्ता जेबी पिल्मो

    पिल्मो अर्थात पिल्मोछा जाती

    खोटाङ, १३ मंसिर । पिल्मो अर्थात पिल्मोछा जाती नेपालमा बसोबास गर्ने एक आदिबासी जनजाती हो । यो समुदायको बसोबास बिशेष गरेर प्रदेश नं. १ को सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउंपालिका वडा नं. २, पेल्माङ, वडा नं. ५, चोचालुङ र सोताङ गाउंपालिका वडा नं. ४, नाम्लुङ रहेको छ । भने पिल्मो जातीको बसोबास भोजपुर, संखुवसभा, इलाम, सुनसरी, मोरङ, तेह्रथुम, झापा, खोटाङ, काठ्माण्डौं जिल्ला लगाएत अन्य बिभिन्न जिल्ला र भारतको सिक्किम, गान्तोक, दार्जेलिङ, कालिम्पोङ, गोरुबथान, जलपाइगुडी लगाएत अन्य देशहरुमा समेत छरिएर बसेको पाईन्छ ।

    पिल्मोहरुको मौलिक, सामाजिक, साँस्कृतिक, धार्मिक, बिशेषता आदिबासी जनजातीलाई चिनाउने प्रमुख आधार हो । पिल्मो जातीको आफ्नै भुमि, भाषा, साँस्कृतिक, इतिहास र पहिचान भएता पनि अहिलेसम्म कसैले अध्यायन गरिएको पाईदैन । केही व्यक्तिहरुले पिल्मो जातीहरुको बारेमा खोजी गरेर लेख लेखेता पनि खासै पिल्मो जातीको बारेमा भने एकिन गर्न सकेको छैन् ।

    कुनै जातीयगत लेखकहरुले पिल्मो जातीको बारेमा लेख लेख्दा फरक—फरक धारणा राख्ने गरेकोले अस्पष्ट र अन्योल मात्र पैदा गराएको छ । नत पिल्मो जातीको बृहत अध्यायन पिल्मो बंशले नै गर्‍यो नत अरुले नै ? केही अध्यायन गर्नेहरु एकातिर कुलुङले कुलुङ जाती हो पिल्मो र नाछिरिङले नाछिरिङ जाती हो पिल्मो भनेर व्याख्या गर्ने गरेको पाईन्छ ।

    यसमा पिल्मो जातीको अगुवाई तथा अग्रजहरुको पनि चासो भने देखिदैन । बरु उल्टै पिल्मो जातीको गहिरो इतिहासको खोजीनीति, अनुसन्धान बिना इतिहास आफुले सबै पढेको र बुझेको भन्दै कोही नाछिरिङ जातीको पछि र कोही कुलुङ जातीको पछि खुलेर लागेको मात्र देखिन्छ ।

    यसरी खप्दुलुको इतिहास जाने बुझेका र पढेका अग्रजहरु समेत पदीय लालचमा आफ्नो पहिचान हराउने पक्षमा लागि परेका देखिन्छ । अहिलेसम्मको इतिहासलाई हेर्दा “कुलुङ” जाती र “नाछिरिङ” जातीहरुको नेतृत्व समेत पिल्मो जातीको खप्दुलु बंशका सन्तानहरुले नै गर्दै आएको देखिन्छ । तर पिल्मो जातीको आफ्नो छुट्टै भाषा, धर्म, साँस्कृति, भुमि भएको जाती भएता पनि जातीय पहिचानको समस्या भएको छ । पिल्मो जातीको पहिचान खोज्न नसक्नु पिल्मो जातीकै कमजोरी भएको छ ।

    chochalung.jpg

    छोछालुङ गाँउ 

    यसरी ११ औं राष्ट्रिय जनगणना २०६८ सालको जनगणनामा पिल्मो जातीले जातीको महलमा कोहीले “कुलुङ” , कोहीले “नाछिरिङ” र कोहीले “राई” लेख्दा आफ्नो अस्तित्व आफैले मेटाएका हुन् । आफ्नो सही पहिचान थाहा नहुनु, खोजीनीति गर्न मन नगर्नु, पुर्खाहरुको कुरा नसुन्नु, आफै पुर्खा हुन् खोज्नु, व्यक्तिगत स्वार्थका लागि अन्य जातीको पछि लाग्नु र गाउँ समाजमा बिभिन्न माध्यमबाट भ्रम सिर्जना गरि अन्य जातीहरुको वकालत गर्न माहिर हुनाले पिल्मो जातीको पहिचान खोज्न नसकिएको मुख्य समस्या देखिएको छ ।

    १२ औं राष्ट्रिय जनगणना २०७८ सालको जनगणनाले जाती, धर्म, भाषा, आदिबासी जनजाती, अल्पसंख्यक जाती बारे एकिन गर्ने हुँदा अहिले आफ्नो धर्म, जाती, भाषाको विषयमा बहस सिर्जना भएको छ । नेपालमा ११ औ पटकसम्म जनगणना हुँदा समेत पिल्मो जातीको केही तथ्याङ्क नआउनु र पिल्मो जातीले त्यो सम्बन्धि चासो नराख्नु भनेको पिल्मो जातीले आफ्नो जाती थरमा सिमित पारेर अरु जातीसँग गाभिनु दुःखद अनि दुर्भाग्य हो ।

    यही हाम्रो कमजोरीलाई आधार मानेर पिल्मो जातीलाई “कुलुङ” र “नाछिरिङ” जातीहरुले आधा—आधा हिस्सामा बाँडफाँट नै गरेर पिल्मो जातीको अस्तित्व नै मेटाउने प्रपञ्च रचेको छ । यसरी १२ औ राष्ट्रिय जनगणना २०७८ सालको जनगणनामा “कुलुङ” जातीले पेल्माङ, नाम्लुङ र चोचालुङमा बसोबास गर्ने, इरिङ भाषा बोल्ने, खप्दुलका सन्तानहरु लोवात्ती, होनीत्ती, रेम्नीसिङ, थोम्रोस, सुर्बा, वाईसुर आदि कुलुङ नै हुन् ।

    छाम्पानाम र खप्दुछेमका सन्तानहरुले पनि आफुलाई कुलुङकै बंशकोरुपमा मान्दै कुलुङ भाषा बोल्ने, कुलुङ साँस्कृति गर्दै आएको र पिल्मोङहरुले पुर्खा मानेका छाम्पानाम ( पुरुष ) र खप्दुछेम ( महिला ) का पुर्खाहरु क्रमशः खप्दुलु र खप दुबै किराती नै भएकोले सम्पुर्ण पिल्मोहरु कुलुङ नै हुन् भनि तथ्यहिन पिल्मो पुर्खाको चर्चा गरेको देखिन्छ । यो आधारले पनि पिल्मो जातीले आफ्नो अस्तित्व मेटाई अन्य जातीमा गाभिनु पर्ने र हुनै पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ । यसरी पिल्मो जातीलाई जोगाउँनका लागि हामी पिल्मो जाती एकजुट भई अगाडी लाग्नु बाहेक अन्य बिकल्प भने छैन ।

    अब लागौ पिल्मो जातीहरुले मान्ने किराती बंशभित्रको पुर्खा खप्दुलु, खप्दुलुको छोरा छाम्पानाम र छाम्पानामको श्रीमतीहरु खप्दुछेम बुसुमतोमा ( जेठी ) र राखालीमे रिदोतोमा ( कान्छी ) को इतिहास :

    किरातका छोराहरु जेठो खम्बुहोङ, माहिला नेबाहाङ, साहिला मेत्नाहाङ, काहिला लाङलेवा र कान्छा मेरात्ती जन्मिए । यसरी किरातका छोराहरुको जन्म पछि मिनापोङ्खो हाल्कुम्बु तेल ( ठाउँ ) बाट शिकार खेल्दै—खेल्दै खुवोलु लाम्छाम्मा ( बराहाक्षेत्र ) आएका थिए । बराहाक्षेत्रबाट किरातका छोराहरु छुट्टिएर अलग—अलग बाटो लाग्दा खम्बुहोङ दुधकोशी खोला किनार लागे ।

    नेवाहाङ अरुण खोला किनार लागे र उनका सन्तानहरु लोरोङ, याम्फु, आठपरिया, मेवाहाङ र याक्खा भए । याक्खाका छोरा देवान भए । मेत्नाहाङ तम्मर खोलाकिनार लागे र उनका सन्तान लिम्बु भए । लाङलेवा सुनकोशी खोलाकिनार लागे र उनका सन्तान सुनुवार भए । मेरात्तीले बाटो भुलेर बराक्षेत्र वरिपरि अल्झिए र उनका सन्तानहरु कोच्या, मेच्या, धिमाल र नागा भए । यसरी खम्बुहोङ छट्टिएर बराहाक्षेत्रबाट शिकार खेल्दै दुधकोशी किनार हुँदै जाँदा वाबुखुङ ( खोटाङ ) पुगे ।

    वाबुखुङ पुगेर बसेपछि खम्बुहोङका छोराहरु जेठा चामलिङ, माहिला बान्तावा, साइला तुम्सोलिङ, काइला दिस्मी र कान्छा साजिमि भए । यसै क्रममा खम्बुहोङका छोराहरु आफ्नो पुर्खौली भूमीमा बस्न केही हानथाप भयो । जसमा चामलिङले सोही पुर्खौली भूमीमा बस्न बाजी जितेपछि सम्पुर्ण खम्बुहोङका छोराहरु तितरबितर भएपछि एक भाई मात्र वाबुखुङमा बसे र अरु दाजुभाईहरुले बसोबास खोज्दै जादा बान्तावा भोजपुर पुगे, तुम्सोलीङ र दिस्मी रावाखोलातिर गएर बसे ।

    दिस्मीका छोराहरु जेठा माप्य ( खालिङ ), माइला खप ( कुलुङ ) र कान्छा योङलीहोङ जन्माए । खपले जेठो ताम्सी र कान्छा छेम्सी जन्माए । योङलीहोङले जेठा थुलुङ र कान्छा बाहिङ जन्माए । यसरी दिस्मीका सन्ताहरु रावाखोलाबाट दुधकोशी किनार हुदै थुलुङ जाती कोही जुबु बसे, कोही नेचा बसे, कोही पञ्चन बसे, कोही तिङला बसे, कोही देउसा बसे, कोही मुक्ली बसे र कोही लोखिममा बस्न थाले ।

    बाहिङ जाती कोही नेचा बसे, कोही सल्यान बसे र कोही पञ्चनमा बसे । खालीङ जातीहरु कोही पावै बसे, कोही वाकु बसे, कोही काकु बसे, कोही बासा बसे र कोही खरिखोलामा गएर बसे । भने खप हुँगाखोलाको किनार हुँदै खपही आई बसे । खपले जेठा ताम्सी र कान्छा छेम्सी जन्मिए । पछि कान्छा छोरा छेम्सीले राताप्खुसंग भूमी साटेपछि छेम्सीमा बसे । ताम्सी छेस्काममा बस्न थाले ।

    तुम्सोलीङले जेठा छोरा दुमी, माइला छोरा साम्पाङ र कान्छा छोरा नास्मी जन्माए । नास्मीले जेठा थुक्सी, माइला रोचो, साइला खेवाबु, काइला खप्दुलु र कान्छा राताप्खु जन्माए । सोही क्रममा खप्दुलुले दाजुभाईभित्र पर्ने साम्पाङको छोरी फालिकोट्ती साम्पाङ्नीसंग हाडफोरा बिहे गर्छ ।

    त्यसपछि नास्मीका छोराहरु छुट्टिएर अलग—अलग बस्ने हुँदा थुक्सी खोटाङ जिल्लाको राखा गएर बसे, रोचो खोटाङ जिल्लाको बाङ्देल गएर बसे, खेवाबु खोटाङ जिल्लाको पारा गएर बसे, खप्दुलु सोलुखुम्बु जिल्लाको पावै, सोताङ हुँदै पिल्मोङ गएर भुँवाखोला माथि जंगलको पोरोखा ओढारमा आफ्नो अधिपत्य जमाएर बस्न थाले । राताप्खु सोलुखुम्बु जिल्लाको सोताङ आएर बसे ।

    खप्दुलुका सन्तानहरु जेठा ताप्तीमुर, माइला काकानारीजन र कान्छा छाम्पानाम जन्मिए । तिन भाई सन्तानहरु जन्माएपछि खप्दुलुको मृत्य भयो । खप्दुलुको मृत्यपछि श्रीमती साम्पाङनीले नाबालक छोराहरुको पालनपोषण एकलै गर्न नसक्ने भएपछि आफ्नै माइतीघर तिन भाई छोराहरु लिएर फर्किने निर्णय लियो ( छोरी चेली समस्या पर्दा माईता फर्केने चलनको शुरुवात ) ।

    साम्पाङनीले आफ्नो नाबालक छोराहरु लिएर माइतीघर फर्किए । यसरी खप्दुलुको श्रीमती सम्पाङनी आफ्नो माइतीघर पुग्दा माइतीहरु अचम्मित भएर सोध्यो ? तिमीहरु किन फर्केर आयो फेरी ? साम्पाङनीले जवाफ दियो — “श्रीमानको मृत्यु भयो देक्तेलमा उहाँको मृत्यु भएपछि यी नाबालक छोराहरुको पालनपोषण गर्न एकलैले नसकेपछि तपाईहरुको सरणमा परेको हो” । त्यसपछि साम्पाङहरुले तिन जना भान्जाहरुलाई राखेर पालनपोषण गर्ने जिम्मा लिन्छ । जिबन गुजराको लागि साम्पाङ भान्जाहरुसँग शिकार खेल्न जान्थे ।

    यसरी शिकार खेल्नेक्रममा मामाभान्जाको ग्रह जुध्यो । खप्दुलुका सन्तानहरु आफ्नो साम्पाङ मामाहरुलाई शिकार खेल्नमा जित्थे । मामाभान्जाहरु शिकार खेल्दै जाने क्रममा साम्पाङले साप्लोबो ( बडेल ) लाई धनुषबाणले हान्दा कहिल्यै पनि निशाना लागेना तर भान्जाहरुले धनुषबाणले बडेललाई हान्दा सात डाँडापारि पनि कहिल्यै निशाना चुकेना ।

    अनि बिस्तारै साम्पाङहरुको भान्जाहरुमाथि डाहा बढ्न थाल्यो । साम्पाङहरुले भान्जाहरुलाई फालिसाम्पाङ पुछारको अरुण खोलाको खहरेघाट लगी डुङ्गामा हालेर अरुण खोलाको माझमा पुगेपछि घोप्टाईदिने योजना गरे । भोलीपल्ट साम्पाङ मामाहरुले भान्जाहरुलाई शिकार खेल्न जाऔ भनेर डुङ्गामा हालेर जेठा ताप्तीमुर र माइला काकानारीजनलाई अरुण खोलामा लगेर माझमा पुगेपछि डुङ्गामा पल्टाइदिए ( यस अर्थले पिल्मोस नाउकुबप शब्दको शुरुवात ) ।

    तर यो घटना घट्नु अघि साम्पाङ्नी बज्यैले मामाहरुको चाल थाहा पाइसकेको थिए । बज्यैले साना बालक छाम्पानामलाई चिन्डोको फेदमा प्वाल पारेर पानी भर्न पठाइदिन र भनी यो चिन्डो नभरिकन नआउनु ? छाम्पानामले प्वाल परेको चिन्डोमा पानी भर्दा—भर्दा रात पर्छ तर चिन्डो भरिएन । चिन्डोमा पानी नभरिएपछि छाम्पानाम बेलुकी पानी बिना नै घर फर्किए ।

    त्यसरी बाँचेको छाम्पानामलाई बज्यैले मामाहरुदेखि लुकाएर हुकाईन । पछि छाम्पानाम जवान भएपछि बज्यैले आफ्नै दिबुखा देक्तेल पिल्मो नै फर्काए । यसरी पिल्मो फर्किन्ने क्रममा छाम्पानाम खोटाङ जिल्लाको राखोला, दुधकोशीको किनार—किनार र हुँगा खोलाको किनार—किनार हुँदै साबिक गुदेल गा.बि.स. को थोकोदोमा आएर बसे ।

    सोही क्षेत्रमा नै छाम्पानामले शिकार खेलेर बस्न थाले । त्यो समय किराती बंशको दिस्मीको माइला सन्तान खप ( कुलुङ ) हुँगा खोलावारीे ( अहिले सोही ठाउँ खपही )े बस्थे । वारीपारी नजिकै भएको हुनाले खपले बिहान उठेर हेर्दा पारी थोकोदोमा फुङ्मासाम ( धुँवाको मुस्लो ) निस्केको र राती हेर्दा मिम साम ( आगो बलेको ) देख्छ ।

    त्यसपछि खपले त्यहाँ बसेका आफ्नो सन्तानहरुलाई सोही अनुसारको कुरा सुनाई पारीे बसेको मनुवा कोही हाम्रो दाजुभाई होकी को हो ? सोधेर, हेरेर यतै ल्याउनु भनी छाम्पानामलाई लिन पठाउँछ । खपका मान्छेहरु जाँदा छाम्पानाम मजाले आगोको मुस्लोभित्र एक्लै ओढारमा सुतिरहेको हुन्छ । खपका मान्छेहरुले तपाई को हो ?

    कहाँबाट आउनुभयो ? हामी तपाईलाई नै लिन आएको पारी बस्छौ जाऔ पारी नै बसौ भनेर प्रश्न गर्दा छाम्पानामले केही उत्तर नदिई नजाने इसारामा मुन्टो मात्र हल्लाएर बस्यो । यो मान्छे लाटो रैछ बोल्दैन भनेर काम गराउन उद्धेश्य राखेर फकाई, फुलाई खपही ल्याउँनलाई प्रयास गरे तर छाम्पानामले मानेन । नमानेपछि खपका मान्छेहरु फर्के । त्यहाँ बस्ने मान्छे नै भएको तर लाटो रहेको कुरा खपलाई सुनायो । फेरी खपले छाम्पानामलाई लिन आफ्नो मान्छेहरु पठायो र भने यदी आउन मानेना भने जबरजस्ती गरेर तानेर भए पनि ल्याउनु । अनि छाम्पानामलाई तानेर खपहीमा ल्यायो ( कुलुङले पिल्मोसलाई तात्छा वा ताच्वा भन्ने गरेको ) ।

    खपही आएपछि छाम्पानामले खपको गोठालो भएर काम गर्न थाले । समयको रफतारपछि खपको छोरी खप्दुछेमसंग छाम्पानामको हिमचिम ( माया ) बढ्न थाल्यो । खपले पछि खप्दुछेम र छाम्पानाम बिचको सम्बन्ध थाहा पाएपछि फेरी छाम्पानामलाई मार्ने योजना बनाए । उक्त योजना खप्दुछेमले थाहा पाए पछि छाम्पानामसंग खपही छोडेर जाने निर्णय लियो ।

    छाम्पानाम र खप्दुछेम खपही छोडेर फुलपाती खोलाको किनारै—किनार हुँदै देक्तेल जारिसखोउ ( पिल्मोको हाल्तोम नजिक पर्ने पिल्मो जातीको उद्गम थलो ) पुगेर बस्न थाले । खपले भोलीपल्ट बिहानै आफ्नो छोरी खप्दुछेम छाम्पानामले भगाएको थाहा पायो । तर खपले आफ्नो छोरीलाई खोजीनीति भने गरेन ।

    यसरी समय बित्दै गयो ७—८ बर्षपछि खपलाई आफ्नो छोरी खप्दुछेमको अत्यान्तै याद आउन थाले । अनि खपले आफ्नो मान्छेहरुलाई छोरी खप्दुछेम खोज्न अनुरोध गर्छ । सोही बमोजिम खप लगाएत खपका सन्तानहरु छोरी खप्दुछेम खोज्न खपही देखि बाटो बनाउँदै उच्च स्थान पर्ने वोखम ( साबिक छेस्काम —७ ) डाँडासम्म पुगेर पारी पिल्मो, छेस्काम, गुदेल सबैतिर हेर्दा केही पनि पत्तो लागेना ।

    धेरै समयको अन्तराल पछि बाटो बनाउँदै गुदेल, पिल्मो, छेस्काम, छेम्सी, बुङ, नाम्लुङ र सोताङ सबै ठाउँहरु देख्नका लागि उच्च स्थान खोज्दै खप लगाएत खपका मान्छेहरु जुक्तुस्को डाँडा पुगे । जुक्तुस्को डाँडाबाट सबै ठाउँतिर हेर्दा पारी पिल्मोको बिच जंगल ( जारिस्खोउ ) मा धुँवाको मुस्लो निस्किरहेको देख्छ ।

    त्यसपछि खपहरु बाटो बनाउँदै जारिस्खोउ आउँछ । त्यहाँ आईपुग्दा छाम्पानाम र खप्दुछेमले तिन सन्तानहरु जेठा हिमान्ता, माइला सुदुलुङ र कान्छा नुर्पिच जन्माईसकेको हुन्छ र सबै लस्करै भएर सुतिरहेको हुन्छ । अनि खप बाजेले छाम्पानामलाई जोवाई स्वीकार गर्छ र भन्छ — “ए ओ छाची, ओ मोक्सी, खोलोङ ओ चास्ची पिपिल चप्चौ तोङना इम्साक ( लाइनै जोवाई, छोरी र नातीहरु सुतेको ) रैछ” । त्यो समय देखि पिल्मोस पिपिल चप्चौ शब्दको शुरुवात भएको । त्यहाँ नै छाम्पानाम र खप्दुछेमको परिवारलाई छोडेर खप आफ्नो दिबुखा वालीखा ( ठाँउ ) फर्केर गयो ।

    पिल्मो जातीको उद्ग थलो जारिस्खोउ देक्तेलबाट बिस्तारै पिल्मो वंश फैलिदै गयो । त्यसपछि छाम्पानाम र खप्दुछेमले सबै परिवार लिएर खुल्तुमला, दिदिलु हुँदै चारला आएर बस्ती बसाल्न थाले । चारलामा आएपछि खप्दुछेम र छाम्पानाले खेतीपाती गर्नका लागि जंगल फडानी गरि शुरुमा अन्न उत्पादन गर्न थाले । त्यसैकारणले उक्त ठाउँको नाम नै चारला रहन गयो । चारलामा बसेर खेतीपाती गर्ने क्रममा जंगली जनावरको आतंक र हैरानीको कारण बस्न भने सकेना । अनि छाम्पानाम र खप्दुछेमले तिन बच्चाहरु लिएर चारलाको डाँडै—डाँडा हुँदै अहिले पोछारी भन्ने ठाँउमा आएर बस्न थाले ।

    पोछारी बस्दै गर्दा खप्दुछेमको मृत्यु भयो । खप्दुछेमको मृत्युको बिलौनामा बसिरहेको छाम्पानामले फेरी अर्को शोक थप्न पुग्यो । छाम्पानामका दुर्इृ सन्तानहरु माइला सुदुलुङ र कान्छा नुर्पिचको मृत्यु भयो । अनि छाम्पानामले जेठो छोरा हिमान्तालाई पोछारीमा छोडेर फेरी खोटाङ जिल्लाको रावाखोला तिर फर्किए । हिमान्ताले सोमान्ता जन्माए ।

    त्यसपछि सकिन्न लागेको सन्तानमा सोमान्ताको जन्म पछि ( अर्थ पो—पोस्को, छारी—बच्चा ) ठाउँको नाम नै पोछारी रहन गयो । सोमान्ताले ताप्तीलु जन्माए । मावली पर्ने खपको सन्तानहरु छेम्सी र ताम्सीले साबिक छेस्काम गा.बि.स वडा नं. ७, पोपिलु मुनीको बीचमा पर्ने जग्गा दाईजो बापत ताप्तीलुलाई दिए । हाल पनि रिङालु, सुर्बा, वाईसुर आदि पाछाहरुको जग्गा रहेको छ ।

    ताप्तीलु पोछारीबाट अलिक तल रानीवन नजिकै आएर बसे । ताप्तीलुले ५ सन्तानहरु जेठा होनीत्ती, माइला लोवात्ती, साइला सुर्बा, काइला मोरोमुल र कान्छा गोक्तुलु जन्माए । यी ५ दाजुभाईको जन्म भएको ठाउँको नाम हाल ङाबु ( अर्थ ङा—५, बु— दाजुभाईको जन्म ) रहेको छ । पछि होनीत्तीबाट छुट्टिएर राराङ्गीप भए ।

    राराङ्गीपबाट छुट्टिएर राजित्ती, होबित्ती र रिङालु भए । लोवात्तीबाट छुट्टिएर कालीसिङ, लाप्चासी, होछोरेप र खीकार भए । लाप्चासीबाट छुट्टिएर फोवात्ती भए । खिकारबाट छुट्टिएर मुलुखु भए । सुर्बाबाट छुट्टिएर सैमालुङ, रेम्नीसिङ र वाईसुर भए । सैमालुङबाट छुट्टिएर छाम्नीबु भए । रेम्नीसिङबाट छुट्टिएर खम्नीसिङ भए । मोरोमुलबाट छुट्टिएर हादीमुल भए ।

    यसरी रीङालु पाछाका सन्तानहरु निम्खम र तिन्दुमामा बस्न थाले । सुर्बा पाछाका सन्तानहरु जिदो, मेल्लोउ, सुम्बु र कापमा बस्न थाले । होनीत्ती खाक्ला र लोवात्ती तिवामा बस्न थाले । वाईसुर बोहीमा आएर बस्न थाले । सैमालुङ निमखम्म आसपास आएर बस्न थाले । रेम्निसिङ, गोक्तुलु र मोरोमुल बुङको भुँवाखोला किनार छेउछाउ आए बस्न थाले ।

    रावाखोला पुगेपछि छाम्पानामले फेरी नास्मी बंशको जेठा पुर्खा थुक्सीको छोरी राखालीमेसंग हिमचिम बढाएर कान्छी बिहे ग¥यो । छाम्पानामले कान्छी श्रीमती राखालीमेलाई लिएर नाम्लुङमा आएर बस्न थाले । छाम्पानामले कान्छी श्रीमती राखाबाट ल्याएपछि राखालीमे गर्भिणी भईन् । यसरी छाम्पानामको कान्छी श्रीमतीपट्टिबाट जन्मेको छोराको नाम राख्दा राखाबाट थोम्पा ( इरिङ भाषाबाट तलबाट माथि ल्याइएको ) हुनाले थोप राखे । थोपको जन्मपछि छाम्पानामको मृत्यु भयो ।

    थोपले जुप्हो जन्माए । जुप्होले खाबप्दि जन्माए । खाबप्दिले पप्हो जन्माए । पप्होले लाल्हो जन्माए । लाल्होले दिलुम्बु जन्माए । दिलुम्बुले रिप्पा जन्माए । रिप्पाले लाछीरी जन्माए । लाछीरीले दोछेलु जन्माए । दोछेलुले रुवाम् जन्माए । रुवाम्ले छार्ता जन्माए । छार्ताले छालुप्पा जन्माए । छालुप्पाले लोप जन्माए । लोपले वाल्हो जन्माए । वाल्होले थुरमाही जन्माए ।

    थुरमाहीले लोदुमा जन्माए । लोदुमाले दुकुछे जन्माए । दुकुछेका सन्तानहरु जेठा येइसा र कान्छा लुखुर्बु जन्मिए । लुखुर्बुले वालेमुख जन्माए । वालेमुखले रोदुमुक्स जन्माए । रोदुमुक्सले जेठा होछात्ती र कान्छा होछासो जन्माए । होछातीले होतुराज जन्माए । होतुराजले जेठा यातिहो र कान्छा हिन्दुखु जन्माए । यातीहोले जेठा थोमरोस, माइला सायोपोस, साइला श्रीपोस, काइला रोजीपोस र कान्छा होपोत्तीस जन्माए । हिन्दुखुले जेठा होलोत्ती, माइला छानीत्ती, साइला लामाखुस र कान्छा गुरुतिस जन्माए । होछासोले जेठा देउराम र कान्छा छेन्हो जन्माए । छेन्होको सन्तानहरु जेठा छेन्दीसी, माइला छेइमाहो, साइला ताम्नीहो, काइला एन्होस र कान्छा छाम्नीहो जन्माए ।

    pilmo.jpg

    पिल्मो गाँउ

    यातीहोका सन्तानहरु नाम्लुङको वास्दोवामा श्रीपोस, राजीपोस, थोमरोस र हिन्दुखुको सन्तानहरु होलोत्ती, केही गुरुत्तीस र छानीत्ती बस्न थाले । यातीहोका सन्तानहरु नाम्लुङको रोक्थुमा सायोपोस, होपोतिस र हिन्दुखुका सन्तानहरु लामाखुस, केही गुरुसित र छानीत्ती बस्न थाले । भने होछासोका सन्तानहरु देउराम र छेन्हो चोचालुङमा गएर बस्न थाले । हाल चोचालुङमा छेन्होका सन्तानहरु छेन्दीसी, छेइमाहो, ताम्नीहो, एन्होस, छाम्नीहो, ताप्तीलु बंशका लोवात्ती र होछाती बंशका हिन्दुखु पाछाहरुको बसोबास रहेको छ ।

    यसरी पिल्मो जातीको पुर्खा खप्दुलुका छोरा छाम्पानामका सन्तानहरु पिल्मोमा बस्ने खप्दुछेम बुसुमतोमप ( जेठी ) पट्टिको र नाम्लुङमा बस्ने राखालीमे रीदोतोम ( कान्छी ) पट्टिको सन्तानहरु भएकोले आदिमकालमा हरेक धर्र्म, साँस्किृति, संस्कार, रितिरिवाज संगसंगै गर्ने तथा चाडवाड संगै मनाउने र मर्दापर्दा समेत संगै बसेर साथ सहयोग गर्ने गरेको थियो ।

    पछिल्लो समय हुँगा खोलाको बाढी, पहिरोले बाटो अबरोधको सिर्जना भएको कारण पिल्मोले लाछोप्प नोक्छो ( मर्दापर्दाको पुरोहीत अर्थात पुर्खा ) लिने र नाम्लुङले तोस नोक्छो ( भुमे पुजाको पुरोहित अर्थात पुर्खा ) लिने भनेर एकअर्कोमा सहमती गरि आ—आफ्नै ठाउँबाट पिल्मोले पिल्मोमा नै र नाम्लुङले नाम्लुमै गर्ने निर्णय भयो ।

    त्यो समय देखि पिल्मोमा तोस नोक्छो छैन र नाम्लुङमा लाछोप्प नोक्छो छैन । यो इतिहास भने हामी सामु अझै पनि ताजा नै रहेको छ तर बुझेर पनि नबुझे जस्तो, जानेर पनि नजाने जस्तो नाटकीय व्यवहार देखाउने अनि आफ्नो फप्परी थाहा नभई अन्य जातीको इतिहास थाहा हुने इतिहासकारहरु तथा हाम्रो अग्रजहरुप्रति पनि पिल्मो जातीको पहिचानको लागि सबै एकजुट हुन बिनम्र आग्रह गर्दछु ।

     

    सम्बन्धित समाचार