मंगलवार, मंसिर १४ २०७८
नेपाल वाइड
खोटाङ, १४ मंसिर । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत धार्मिक तथा पर्यटकीयस्थल भानुमतीको प्रचार–प्रसारमा ११ दिने ध्यानमा बसेका छन् ।
आफुलाई शिवभक्त मान्ने राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको भानुमती मन्दिरमा ध्यानमा बसेका हुन् । भारतको काशीको झैं धार्मिक अस्तित्व बोकेको भए पनि ओझेलमा परेको भानुमतीमा राउत ६ मंसिरदेखि ध्यानमा बसेका हुन् ।
७ वर्षदेखि अन्न नखाएका राउतले पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात, बराहपोखरीमा १८ घण्टा ध्यानमा बसिसकेका छन् । लिकुवापोखरीको लेगुवामा ९ रात ९ दिन गुफा बसेका उनी भानुमतीतर्फ सबैको ध्यान तान्नका लागि ध्यानमा बसेको स्थानीय बताउँछन् ।
भानुमतीलाई भानुमती गंगा पनि भन्ने गरिन्छ ।
दक्षिणबाट उत्तरतर्फ वहेको खोला भएकाले सो स्थानलाई उत्तर वाहिनि पनि भन्ने गरिन्छ । काशी पुग्न नसक्ने तिर्थयात्री भानुमतीमा पुगेर पूजआजा गर्ने गरेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए ।
‘काशीमा पुग्ने नेपालीलाई भारतीयले काशी त नेपालमै छ । किन यहाँ आएको भन्दा रहेछन्,’ विष्टले भने, ‘यत्तीको महत्वपूर्ण धार्मिक स्थल भए पनि भानुमती ओझेलमा छ । राज्यले यसलाई देखेको छैन ।’
हालसम्म पुरानो महादेव मन्दिर मात्र रहेको भानुमतीमा सभापति विष्टकै पहलमा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त भएको १९ लाखबाट नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दिरमा पार्वती वा गणेशमध्ये एकको मुर्ती राख्ने तयारी छ ।