मंगलवार, मंसिर १४ २०७८
नेपाल वाइड
खोटाङ, १४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही मारमा परेका छन् । आहालेमा बनाइएको नेपाल टेलीकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।
गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थालेको तर फोन नलाग्ने समस्या सुरु भएको हो । सुर्के आसपासमा बेलुकादेखि बिहानसम्म फोन नलाग्ने समस्याले हैरान पारेको सेवाग्राहीको गुनासो छ । गुनासो गरेपछि नेपाल टेलीकमले एक जना कर्मचारी पठाए पनि हेरेर समस्या हल नगरी फर्किएको राईले बताए ।
वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाँवी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिए पछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा देखिएको छ ।
घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् । कतिपय मादक पदार्थ सेवन गरेका स्थानीय समेत टावरमा चढ्ने गरेको स्थानीयले बताएका छन् । सुरक्षा व्यवस्था नहुँदा टावरको मिटर बक्स नै फुटाइएका छन् ।