Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी मन्दिरमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन

    हलेसी मन्दिरमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन


    • मंगलवार, मंसिर १४ २०७८

    • नेपाल वाइड


    हलेसी मन्दिरमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन
    फायल तस्बिर

    खोटाङ, १५ मंसिर । खोटाङको त्रि–धार्मिस्थल हलेसीबाट चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पुजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

    महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट १ लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

    कोभिड–१९ को महामारीका कारण गुफा बन्द हुँदा हलेसीमा तुलनात्मक रुपमा कम भेटी संकलन भएको हो । कोभिडका कारण गत १५ बैसाखदेखि २९ भदौसम्म हलेसी गुफाभित्र पसेर दर्शन गर्न बन्द गरिएको थियो ।

    संकलन भएका भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुछ«े बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।

    मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरी, दिव्य ध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा यस अवधिमा भारु ३ हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर ३ जम्मा भएको छ । नगरपालिकामार्फत स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दैआएको छ ।

    सम्बन्धित समाचार