Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडकमै धराप : ढकनी नराख्दा नालीमा खस्छन् स्थानीय

    सडकमै धराप : ढकनी नराख्दा नालीमा खस्छन् स्थानीय


    • बिहिवार, मंसिर १६ २०७८

    • नेपाल वाइड


    सडकमै धराप : ढकनी नराख्दा नालीमा खस्छन् स्थानीय
    दिक्तेलबजारको खुल्ला ड्रेनको प्लाव छेक्न राखिएको काठ ।

    खोटाङ, १६ मंसिर । खोटाङको दिक्तेलबजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय नालीमा खस्न थालेका छन् । दिक्तेलको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्प बिचमा ढलान गरेको निर्माण कम्पनी सुर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय नालीमा खस्न थालेका हुन् ।

    विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैनबहादुर कट्वालले बताए ।

    १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए । हिँड्दाहिँड्दै नलीमा खसेका वृद्ध रक्ताम्मे बनेको कट्वालले बताए ।

    दैनिकजसो स्थानीय नालीमा खस्न थालेपछि बुधबार केही नालीमाथि काठ राखेर प्वाल ढाकिएको छ । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन् । मोबाईल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेको कट्वालले बताए ।

    जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सुर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राती ढलान सकेको थियो ।

    रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढकनी नराखी छाडेको हो । नाली जाम भएकोबेला सरसफाईका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ । निर्माण कम्पनीको कतिसम्म लापरवाह देखियो भने सो सडक खण्डमा गरिएको ढलान नसुक्दै बाईक गुढाइएको थियो ।

    सम्बन्धित समाचार