आइतवार, मंसिर १९ २०७८
नेपाल वाइड
खोटाङ, १९ मंसिर । विना जानकारी विद्यालयमा अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माबि खोक्सेलीमा कार्यरत शिक्षक लोमस निरौलालाई पदबाट हटाइएको छ ।
गत १४ कात्तिकदेखि विद्यालयमा विना जानकारी अनुपस्थित रहेको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको १२ मंसिरमा बसेको संयुक्त बैठकले निमावि श्रेणीका अंग्रेजी शिक्षक निरौलालाई पदबाट अवकाश दिने निर्णय गरेको हो ।
विद्यालयमा अनुपस्थित हुनुपर्ने कारण खुलाएर स्पष्टीकरण दिन र विद्यालयमा हाजिर हुन ५ मंसिरमा २४ घण्टे पत्र काट्दा पनि जानकारी विहिन बसेकाले शिक्षक निरौलालाई शिक्षा ऐन २०२८ (नवौं संशोधन २०७४) को दफा (१६) ङ को उपदफा ५ अनुसार पदबाट हटाइएको व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेलले बताए ।
यद्यपी, विव्यास र शिअ संघको शिक्षक हटाउने सो निर्णयलाई नगरपालिकाबाट सदर गर्न बाँकी छ । शिक्षक निरौलालाई व्यक्तिगत रिसइवि राखेर हटाउने निर्णय गरिएको पाइएकाले काज फिर्ता गरेर सोही विद्यालयमा हाजिर गराउने तयारी भइरहेको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताए ।
तिहार, छठ र फाल्गुनन्द जयन्तीलाई लक्षित गर्दै विद्यालयमा १६ कात्तिकदेखि २८ कात्तिकसम्म विदा दिइएको थियो । शिक्षक निरौला भने दुई दिन अगावै विदामा घर गएका थिए ।
तर उनी विदा सकिएपछि पनि सम्पर्कमा नरहेको प्रअ नयनकुमार राईले बताए । नगरपालिकाको शिक्षा शाखाले भने शिक्षक निरौलालाई नगरपालिकाले १ मंसिरदेखि काजमा राखेको जनाएको छ । विद्यालयमा फर्कने वातावरण बिग्रँदै गएपछि शिक्षक निरौलालाई नगरपालिकामा काजमा राखिएको जनाइएको छ ।

उनलाई काजमा राखिएको पत्र भने १३ मंसिरमा आएको विव्यास अध्यक्ष पौडेलले जनाए । शिक्षक निरौलामाथि कांग्रेसको जिल्ला अधिबेसनमा मत गणना लगायतमा खटिएको आरोप छ । उसो त प्रअ राई र शिक्षक निरौला क्रमशः एमाले र कांग्रेस निकट शिक्षक संगठनका नेता हुन् । राजनैतिक हिसावले पनि उनीहरुबिचमा द्धन्द्ध रहेको अभिभावक बताउँछन् ।
विव्यास, विद्यालय प्रशासन र शिक्षकको लडाईले विद्यालयको पठन–पाठन भने प्रभावित भएको छ । विद्यालयमा उत्पन्न समस्या, भवन निर्माणमा भएको अनियमितता लगायतका विषयमा छानविनका लागि नगरपालिकाले रविकिरण आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
शिक्षकलाई जागीरबाट हटाउन अघि अपनाइने विधि र प्रकृयालाई मिचेर निर्णय गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । ‘सवै शिक्षकलाई समान व्यवहार गर्नुपर्छ । मन परेका शिक्षकलाई पछि हाजिर गर्न दिनु, मन नपर्ने शिक्षकलाई सजाय गर्नु उचित होईन,’ वडाध्यक्ष बस्नेतले भने, ‘अल्टिमेटम पनि एकैचोटी २४ घण्टे सोधिएको छ । जागीर नै खाइदिने भन्दा पनि सुधार गर्नमा ध्यान दिनु पथ्र्यो ।’
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित शिवसिद्ध प्रावि कात्तिकेमा कार्यरत कर्मचारी (कास) रेगिन्द्र राईलाई पनि अवकाश दिने निर्णय गरिएको छ ।
१२ मंसिरमा बसेको व्यवस्थापन समितिको बैठकले विद्यालय कर्मचारी राईलाई शिक्षा ऐन २०२८ को दफा १८२.१६ (ङ) को उपदफा ५ (ग) र (च), नगर शिक्षा ऐन २०७६ को दफा ६९ अनुसार अवकाश दिने निर्णय गरेको हो । छानविन गर्दा विधि र प्रकृया पुगेको पाइए अवकाशको निर्णय स्वीकृत हुने शिक्षा शाखा संयोजक कार्कीले बताए ।
शिक्षा (नवौं संशोधन) ऐन, २०७४ को (१६) ङ को उपदफा (५) मा पदीय दायित्व पूरा नगरेमा, विना सूचना लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउन सकिने व्यवस्था छ ।
शैक्षिक–सत्र २०७६ देखि ‘शैक्षिक सुधार वर्ष’ अभियान थालेको नगरपालिकाले सोही वर्ष पेशागत मर्यादा विपरित काम गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका दुई शिक्षकलाई अवकाश दिएको थियो ।