शुक्रवार, मंसिर २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ मंसिर । खोटाङको दिक्तेलबजारमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गर्न सम्भाव्यता अध्ययन सुरु गरिएको छ । हालसम्म अलग–अलग तरिकाले सञ्चालन हुँदै आएको बचत तथा ऋण सहकारीलाई नेपाल सरकारको नीति अनुसार मर्ज गर्नका लागि भावी योजना निर्माणार्थ शुक्रबार बसेको पाँच सहकारी सञ्चालकको प्रारम्भिक बैठकले सम्भाव्यताको खोजी गर्ने निर्णय गरेको छ ।
बचत तथा ऋण सहकारी अभियान्ता खुसनारायण शैंजूको समन्वयमा सक्रिया साकोस, सिद्धलक्ष्मी साकोस, दिक्तेल वचत तथा ऋण सहकारी संस्था, शुभलाभ वचत तथा ऋण सहकारी संस्था र लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका सञ्चालकको बैठकले मर्जको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारी मर्जका लागि अन्तर सहकारी बैठक, गोष्ठी तथा छलफल सञ्चालन सुरु गर्ने निर्णय भएको अभियान्ता शैंजूले जानकारी दिए ।
बैठकमा सहभागी सहकारी सञ्चालकले आफ्नो सहकारी संस्थाको सञ्चालक समितिको बैठकमा मर्जर सम्वन्धी छलफल गराउने र आगामी २ पुसमा बस्ने बैठकमा जानकारी गराउने छन् ।
“दिक्तेलबजारस्थित बचत तथा ऋण सहकारी संस्थाहरु बिच सरकारको नीति अनुसार मर्ज गर्नका लागि सम्भाव्यताको खोजीमा छलफल थालिएको हो,” शैंजूले भने, “सहकारीलाई मर्ज गर्ने वा नगर्ने विषयमा सञ्चालक समितिको बैठकबाट निर्णय गरेर अर्को बैठकमा पेश हुन्छ । त्यसपछि सहकारी मर्ज गर्ने विषयमा थप निर्णय हुन्छ । कानूनतः समस्या पनि छ, समय लाग्छ ।”
दिक्तेलबजारमा ११ वटा बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । त्यसमध्येमा प्रारम्भिक रुपमा पाँच सहकारीले मर्जको विषयमा छलफल अघि बढाएको हो ।
बैठकमा सक्रिय साकोसका अध्यक्ष राजेन्द्र लयालु, सिद्धलक्ष्मी साकोसका उपाध्यक्ष मनोजकुमार बजिमय, दिक्तेल बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक समुन्द्रप्रसाद जोशी, शुभलाभ बचत तथा ऋण सहकारी सुंस्थाका प्रवन्धक सञ्जिव थापा र लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका सदस्य हरिबोल आचार्यको सहभागीता रहेको थियो ।