शनिवार, मंसिर २५ २०७८
नेपाल वाइड
खोटाङ, २५ मंसिर । काठ्माण्डौंमा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साँढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो ।
२ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुने रिदुम खिम शुक्रबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शिलान्यास गरेका हुन् ।
८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताए ।
पुर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एबं प्रर्बधनका लागि काठ्माण्डौंमा रिदुम खिम निर्माण सुरु गरेको हो ।
चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माणको काम पुरा गरिने केन्द्रले जनाएको छ । रिदुम खिम निर्माणका लागि नाछिरिङ तथा गैर–नाछिरिङबाट २० लाख ३७ हजार रुपैयाँ संकलन गरिसकेको किरात रदु नाछिरिङ साखाम केन्द्रले गत तिहारमा देउसी खेलेर थप २ लाख ६९ हजार ८४० रुपैयाँ रकम संकलन गरेको जनाएको छ ।
भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख बजेट प्राप्त भएको महासचिव कितारीले बताए । यस्तै, आदिवासी जनजाती उत्थान प्रतिष्ठानबाट २० लाख सहयोगको प्रतिवद्धता जुटेको केन्द्रले जनाएको छ ।
मुल घरमा मान्दै आएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वाताबरण बनाउने, जन्म, मृत्यु, वैवाहिक लगायतका संस्कार गर्ने, संसारभर छरिएर रहेका नाछिरिङ समुदायलाई संगठित गर्ने, नाछिरिङको भाषिक, संस्कार, संस्कृतिको एकिकरण गर्ने लगायतका लक्ष्यका साथ रिदुम खिम निर्माण सुरु गरिएको साखामकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताईन् ।
‘चुला घर (रिदुम खिम) नहुँदा धेरैले मुन्धुमी संस्कार अनुसार बिवाह, जन्म संस्कार र मृत्यु संस्कार गर्न पाइरहेका छैनौं । जसले गर्दा हामी दिन प्रतिदिन अन्य धर्मको सिको गर्दै आफनो मौलिक संस्कारलाई बिर्सिदै गइरहेका छौँ,’ उपाध्यक्ष नाछिरिङले भनिन्, ‘यही तथ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले हाम्रो मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिई सभ्य समुदायको परिचय दिन रिदुम खिम (मुन्धुम घर) निमार्णको काम सुरु गरिएको हो ।’
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ (राई)को सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ बसोवास रहेको छ ।