Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किसानको सिक्ने/सिकाउने थलो बन्यो रेम्बो ट्राउट फर्म

    किसानको सिक्ने/सिकाउने थलो बन्यो रेम्बो ट्राउट फर्म


    • शुक्रवार, पौष २ २०७८

    • नेपाल वाइड


    किसानको सिक्ने/सिकाउने थलो बन्यो रेम्बो ट्राउट फर्म
    तालखर्कमा स्थापित रेम्बो ट्राउट माछा फर्म ।

    खोटाङ, २ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कमा स्थापित रेम्बो ट्राउट माछा फर्म किसानका लागि सिक्ने÷सिकाउने थलोका रुपमा विकास भएको छ ।

    रेम्बो ट्राउट पालनको सम्भाव्यता अध्ययनका क्रममा कृषिविज्ञ मदन राईको शुभद्रा–मदन फाउण्डेसनको मातहतमा २०६९ सालमा स्थापना गरिएको फर्म रेम्बो ट्राउट पालनका लागि सिप र विधि सिक्ने थलो बनेको हो ।

    खोलाको बगिरहेको पानीलाई सदुपयोग गरेर रेम्बो ट्राउटको सम्भाव्यताको परिक्षण गर्दै व्यवसायीक रुपमा रेम्बो ट्राउट पालनको विकासका लागि माछा विशेषज्ञ डा. आशकुमार राईको विज्ञ सहयोगमा फर्म स्थापना गरिएको हो ।

    रेम्बो ट्राउट फर्ममा रम्भा खोलाको पानी कुलोमार्फत लगेर उपयोग गरिएको छ । रेम्बो ट्राउटका लागि वार्षिक १ टन माछा उत्पादन दिने ८ वटा लाम्चो पोखरी निर्माण गरिएको छ । हाल ७ पोखरीमा माछा लगाइएको छ ।

    व्यवसायीक हिसावले भन्दा पनि पनि रेम्बो ट्राउटको पालनमा किसानलाई उत्प्रेरित गर्न फर्म स्थापना गरिएको शुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताउनुभयो ।

    तालखर्कमा रेम्बो ट्राउटको परिक्षण सफल भएपछि अन्य किसान अध्ययन र अवलोकनमा आउने गरेका छन् । रेम्बो ट्राउट फर्मको अध्ययन र अवलोकनपछि फर्किएका कतिपय किसानले रेम्बो ट्राउटको व्यवसायीक पालन सुरु गरिसकेका छन् ।

    प्रायः चैतमा हालिएको भुरा वर्षदिनपछि विक्रीका लागि तयार हुने कार्यकारी निर्देशक राईले बताए । आठ/नौ महिनामा एउटा रेम्बो ट्राउट करिब २०० ग्राम तौलको हुने गरेको छ ।

    तालखर्कमा स्थापना गरिएको रेम्बो ट्राउट फर्म पुर्वी नेपालकै पहिलो हो । २०६४ सालसम्म पुर्वमा रेम्बो ट्राउटको पालन सुरु भएको थिएन ।

    सो रेम्बो ट्राउट फर्मले कृषि अनुसन्धान केन्द्र (नार्क)बाट पुर्वमै पहिलो ट्राउट फर्मको रुपमा सम्मान पाएको थियो । तालखर्कमा रेम्बो ट्राउट फर्म स्थापनापछि जिल्लाकैं हौंचुर, जालपा र खिदिमामा व्यवसायीक रुपमा रेम्बो ट्राउटको व्यवसायीक पालन सुरु भइसकेको छ ।

    रेम्बो ट्राउट फर्मबाट सिप सिकेका युवा किसान श्रवण राई र सुरेश भुजेलले तालखर्कमै व्यवसायीक रुपमा रेम्बो ट्राउट माछा फर्म स्थापना गरेका छन् ।

    दुई युवाले १२ लाखको खर्चमा २०७७ साल बैसाखमा रेम्बो ट्राउट माछा फर्म स्थापना गरेका हुन् । भुजेलको रम्भाखोला पशु तथा कृषि फर्म र राईको सुम्निमा बहुउद्धेश्यीय कृषि श्रोत केन्द्रमार्फत व्यवसायीक रुपमा रेम्बो ट्राउट माछा फर्म सुरु गरिएको हो । भुरा उत्पादन गर्ने दुई सहित सात पोखरीमा पाँच हजार भुरा हालिएको श्रवण राईले बताए ।

    सम्बन्धित समाचार