Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    साकेलाका किसानले विक्री गर्न थाले रेम्बो ट्राउट

    साकेलाका किसानले विक्री गर्न थाले रेम्बो ट्राउट


    • आइतवार, माघ २ २०७८

    • नेपाल वाइड


    साकेलाका किसानले विक्री गर्न थाले रेम्बो ट्राउट
    रेम्बो ट्राउट पालनका लागि खिदिमाको मखमलेमा निर्माण गरिएको रेस–वे ।

    खोटाङ, ३ माघ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समुहले रेम्बो ट्राउट विक्री सुरु गरेका छन् । रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि श्रोतकेन्द्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ सामुहिक रुपमा रेम्बो ट्राउट पालन सुरु गरेका किसानले तयारी माछा विक्री सुरु गरेका हुन् ।

    भुरा हालेको वर्ष दिनमा रेम्बो ट्राउट माछा विक्रीयोग्य बनेपछि प्रतिकेजी १ हजार ५०० का दरले विक्री सुरु गरिएको लगानीकर्ता निसन राईले बताए ।

    आथिक वर्ष २०७७/०७८ मा खिदिमाको मखमलेमा ५० लाख १० हजारको लगानीमा स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर रेम्बो ट्राउट पालन सुरु गरिएको थियो ।

    रेम्बो ट्राउट पालनका लागि १९ वटा (रेस–वे) पोखरी र फिल्टर ट्यांक निर्माण गरेर ६ चैत २०७७ मा १० हजार भुरा हालिएको थियो । यो लटमा करिब ७ सय केजी माछा विक्रीका लागि तयार भएको कृषक समुहले जनाएको छ । केही समयपछि फिसिङ तथा अर्डर अनुसार पोखरीस्थलमै पकाएर उपलव्ध गराइने राईले जनाए ।

    आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रुपमा बिकास गर्दै कृषि पर्यटनको विकासका लागि स्थानीय किसानले रेम्बो ट्राउट पालन सुरु गरेका हुन् ।

    आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार अन्तरगतको मत्स्र्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको ५ लाख, गाउँपालिकाको ४ लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समुहको १६ लाख १० हजार लगानीमा रेम्बो ट्राउट पालन सुरु गरिएको हो । हाल रेम्बो ट्राउट रेस–वे क्षेत्रमा घुमफिर गर्नेको भीड लाग्न थालेको छ ।

    २०७४ सालमा खिदिमाका स्थानीय आफैले ९ लाख उठाएर गरेर रेम्बो ट्राउट पालनका लागि काम थालेका थिए । चार वटा पोखरी र फिल्टर ट्यांक पनि बनाएका थिए ।

    त्यो बेला पोखरी निर्माण सम्पन्न नहुँदै भुरा ल्याइएपछि घाटा बेहोरेको तावाहाङ रेम्बो ट्राउट कृषक समुहले पुःन मत्स्य विकास निर्देशनालय, गाउँपालिका र वडा कार्यालयको सहयोगमा ५० लाखको योजना बनाएर १९ वटा पोखरी निर्माण गरेको हो ।

    पर्यटकीय स्थल तावाभञ्ज्याङ नजिकै रहेकाले रेम्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

    तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धनका लागि तावा खोलाको शिरमा रहेको तावाभञ्ज्याङमा बाँध हालेर कृत्रिम ताल निर्माणका लागि डिपिआर तयार भइसकेको छ ।

    सम्बन्धित समाचार