Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने कानूनी बाटो खुल्यो

    प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने कानूनी बाटो खुल्यो


    • मंगलवार, माघ ४ २०७८

    • नेपाल वाइड


    प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने कानूनी बाटो खुल्यो
    ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवन । तस्बीर सौजन्य : खेमराज पुरी

    खोटाङ, ४ माघ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्ने र कार्यसम्पादन जमानत (धरौटी) जफत गर्ने कानूनी बाटो खुलेको छ ।

    उच्च अदालत पाटनका न्यायधिस माधवप्रसाद पोखरेल र जगदीश घिमिरेको संयुक्त इजलासबाट जारी उत्प्रेषण आदेशले प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर, काठ्माण्डौंसँग ठेक्का तोड्ने, कार्यसम्पादन जमानत जफत गर्ने लगायतका निर्णय कार्यान्वयनका लागि कानुनी अड्चन हटेको हो ।

    निर्माण कम्पनीले सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै गाउँपालिकाले धरौटी जफतका लागि नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड, बागबजार, काठ्माण्डौंलाई पत्राचार गरेको विषयमा मुद्धा परेपछि सोही अदालतका न्यायधिस महम्मद जुनैद आजादको पुस २२ को एकल इजलासले सो निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

    उच्च अदालतको पछिल्लो उत्प्रेषण आदेशले सो अल्पकालिन अन्तरिम आदेश खारेज गरेसँगै निर्माण कम्पनीसँग ठेक्का तोड्नेदेखि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन गर्ने कानूनी बाटो खुलेको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    उत्प्रेषण आदेशमा ‘निवेदनमा उल्लिखित विषयको सम्बोधन विपक्षीहरुबाट लिखित जवाफ परे पश्चात हुने सुनुवाईबाट नै हुने हुँदा एक न्यायधिसको इजलासबाट २२ पुसमा दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन’ भनिएको छ ।

    निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहिन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको पास भएको नक्कली ल्याव रिपोर्ट बनाएको खुलेपछि गाउँपालिकाले ११ पुसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम भवन निर्माण सम्वन्धी ठेक्का रद्ध गर्ने निर्णय सँगै निर्माण कम्पनीबाट धरौटी असुल गर्न र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    सम्बन्धित समाचार