आइतवार, माघ ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ माघ । कोभिड–१९ को तेश्रो लहर सुरु भएपछि खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दीर प्रवेशमा रोक लगाइएको छ । कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दीरको गेटमा ताला लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी महादेवस्थान विकास समितिका कार्यालय सचिव सर्वधन बस्नेतले बताउनुभयो ।
दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको हो । हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तिर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । यसबिचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पुजाआजा गर्नुपर्ने छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो तेश्रो पल्ट हो । कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।