Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ

    खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ


    • आइतवार, माघ ९ २०७८

    • नेपाल वाइड


    खोटाङ फुटबल एकेडेमीलाई इकिमा इन्टरप्राइजेजको साथ
    एक वर्षे सहकार्यको सम्झौताका क्रममा इकिमा इन्टरप्राइजेज प्रालिका प्रोपाइटर किरणजित राई र खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठ ।

    खोटाङ, ९ माघ । फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको खोटाङ फुटबल एकेडेमी (केएफए)लाई इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलले साथ दिएको छ । दिक्तेलबजारमा केही समयअघि खुलेको होन्डाको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेजले खोटाङ फुटबल एकेडेमीलाई एक वर्षका लागि प्रायोजक बनेर साथ दिएको हो ।

    ‘फुटबल सवैका लागि’ भन्ने नारा सहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई इकिमा इन्टरप्राइजेजले ५० हजार बराबरको सहयोग गर्नेगरी आइतबार एक वर्षे सम्झौता गरिएको छ ।

    स्वतःस्फुर्तरुपमा खेलाडी उत्पादन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको केएफएको प्रोत्साहनका लागि आधिकारिक प्रयायोजकका रुपमा साथ दिइएको इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलका प्रोपाईटर किरणजित राईले बताए ।

    केएफए र इकिमा इन्टरप्राइजेज बीचको सम्झौताले जिल्लामा पहिलोपल्ट फुटबल क्लव र व्यापारिक संस्थाबीच सहकार्यका लागि प्रायोजन गर्ने/गराउने अभ्यासको थालनी भएको छ । केफएको फुटबल प्रशिक्षणले जिल्लाको खेल क्षेत्रको भविष्यमा सुनौलो योगदान पुग्ने भएकाले साथ दिइएको इकिमा इन्टरप्राइजेजले जनाएको छ ।

    dddd.jpg

    एक वर्षे सहकार्यको सम्झौताका क्रममा इकिमा इन्टरप्राइजेज प्रालिका प्रोपाइटर किरणजित राई र खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठ ।

    इकिमा इन्टरप्राइजेजको साथले फुटबल प्रशिक्षणलाई नियमित सञ्चालन गर्न र नयाँ खेलाडी उत्पादन गर्दै जिल्लाको फुटबललाई व्यवसायीक बनाउने प्रयासमा हौसला मिलेको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

    ‘आउ बढाउ हातहरु खेलाडी बनाउन, देशको निम्ति फेरी अर्को सपुत जन्माउन’ भन्ने नारा अवलम्वन गरेको केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ ।

    हाल केएफएमा विभिन्न उमेर समुहका १२० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् ।

    सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भइसकेको प्रशिक्षक श्रेष्ठले बताए ।

    फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ २०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ ।

    रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

    सम्बन्धित समाचार