Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम

    विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम


    • बुधवार, माघ १२ २०७८

    • नेपाल वाइड


    विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम
    गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गर्न सफल कलाकारको टोली ।

    खोटाङ, १२ माघ । पाँच युवाले विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीत रेकर्ड सँगै सोही गीतको म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्ड कायम गरेका हुन् ।

    ५ हजार २० मिटरको उचाईमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर गीत रेकर्डसँगै म्यूजिक भिडियो छायांकन गरेको दावीलाई गिनिज बुकले मंगलबार राती मान्यता दिएको पत्रकार/गीतकार श्रेष्ठले जानकारी दिए ।

    उनीहरुले गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा पूरा गरेका थिए । गिनिज बुकको यस मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली यूवा सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको दावी गरिएको छ ।

    record in guinness book (music) photo.jpg

    गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गर्न सफल कलाकारको टोली ।

    गीतकार/निर्देशक बुद्धिराजले लेखेको गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । नाछिरिङलाई गायिका गुरुङ र पत्रकार/गीतकार श्रेष्ठले कोरस गायनमा साथ दिएका छन् । गीतका लागि शिवराज जोशीले मादल, डम्बरसिंह राईले बाँसुरी र नाछिरिङले किबोर्ड बजाएका छन् ।

    रेकडिष्टको भूमिका श्रेष्ठको रहेको छ । खारे आसपासमै छायांकन गरिएको म्यूजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका छन् । म्यूजिक भिडियोमा स्वयं बुद्धिराज, मोडल किराती, पत्रकार/गीतकार श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।
    गंगाराम राईको छायांकन रहेको म्यूजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै यूटुव च्यानलबाट सार्वजनिक गरिने श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार