बिहिवार, माघ २७ २०७८
नेपाल वाइड
खोटाङ, २७ माघ । खोटाङका १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङकनमा ८०.५ अंकभार ल्याउदै दिप्रुङ चुईचुम्मा गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका बन्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समाबेशीकरण लगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकन गर्नेगरेको छ ।
मन्त्रालयका अनुसार ७८.७५ अंकभार ल्याउदै हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनमा जिल्लामा दोश्रो स्थान प्राप्त गरेको छ । ७०.७५ अंकभार सहित बराहपोखरी गाउँपालिका तेश्रो भएको छ ।
यस्तै, खोटेहाङ गाउँपालिकाले ६३.२५, साकेला गाउँपालिकाले ६३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६२.५, केपिलासगढी गाउँपालिकाले ६१.५, ऐसेलुखर्क गाउँपालिकालले ६० र रावाबेंशी गाउँपालिकाले ५०.५ अंकभार प्राप्त गरेको छ । जन्तेढुंगा गाउँपालिकाले भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनका लागि निवेदन नदिएको जनाइएको छ ।
स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरुको वीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङकन गर्दैआएको छ ।