मंगलवार, फाल्गुण ३ २०७८
नेपाल वाइड
खोटाङ, ३ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको छ । व्यवसायीक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
भाडावापत मासिक न्यूनतम २ लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँ तयार पारिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् ।

एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने लक्ष्यका साथ सपिङ कम्प्लेक्स तयार पारिएको हो । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत ६ जेठमा शिलान्यास गरिएको थियो ।
सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । सपिङ कम्प्लेक्सको माथिल्लो तलाको अगाडिको भागमा केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ ।
सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई ५ वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले सोमबार न्यूनतम २ लाख ९७ हजारको ठेक्का आव्हान गरिसकेको छ । इच्छुक व्यक्ति वा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दरभाउ पत्रमा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । चिल्ड्रेनपार्कमा पनि शुल्क तिरेर मात्र मनोरञ्जन लिन पाइने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २ भदौ २०७७ को सूचनामार्फत माग भएको पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको २९ माघको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको थियो ।