शुक्रवार, फाल्गुण ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ फागुन । खोटाङमा लगातार तेश्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७४० हेक्टरमा ३ हजार ३३० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ७४२ हेक्टरमा ३ हजार ३३१ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तथ्यांकमा चालु आर्थिक वर्ष एक टनले सुन्तला वृद्धि भएको देखिए पनि यो वर्ष उत्पादन क्षेत्रफल बढाइएकाले तुलनात्मकरुपमा सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।
१० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार ५८६ मेट्रिक टन र आर्थिक वर्ष २०७५/०७६ मा ७ हजार ५४० टन सुन्तला उत्पादन भएको थियो ।
सुन्तला उत्पादनका लागि योग्य जमिन ८१० हेक्टर भएपनि सोभन्दा कम क्षेत्रफलमा खेती लगाइएको छ । रोग तथा किराको प्रकोपका कारण सुन्तला उत्पादन घटेको कृषि प्रशार अधिकृत पण्डितले बताउनुभयो ।
ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकामा लगाइएको सुन्तलामा सिट्रस ग्रिनिङ रोग देखिएको छ । रोग तथा किराको आक्रमणका कारण सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानी लगायतका हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् ।
जिल्लाको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।
सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ । कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् ।
तर सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ ।