शनिवार, फाल्गुण ७ २०७८
माधव न्याैपाने
" तिम्रा 'बा' कहिले आउँछन् नानी ?"
" 'बा' भनेकाे के हाे हजुरामा ?" करिब पाँच बर्षकी नानीले उल्टै हजुरआमा तर्फ प्रश्न हुत्ताइन्।
"हरे ! तिम्राे 'ड्याडी' भन्नुभएको के, हजुरामाले ।"
नजिकै बसेकी दिदीले स्पष्ट पारिदिनुभयाे। नजिकै बसेकाे म छक्क परिरहेथेँ; नानीले 'बा' शब्दको अर्थ नबुझेकोमा ।
उसाे त याे एउटा प्रतिनिधिमूलक दृष्टान्त मात्रै हाे । हिजो आजका अधिकांश केटाकेटीले बाजे-बज्यै, बा-आमा, काका-काकी भन्दा ग्रेण्ड फादर-मदर, ड्याट-मम, अंक-आन्ट उच्चारण गर्छन् । उनीहरु नास्ता हैन, व्रेक फास्ट खान्छन् । भात हैन, राईस खान्छन् । स्याउ, सुन्तला, केरा हैन, एप्पल ,ओरेन्ज, बनना खान्छन् ।
गणितीय अंक र संख्याकाे त कुरै नगराैं उनीहरु नेपालीमा जवाफ दिन जान्दै-जान्दैनन् । नपत्याए एकपटक आफ्ना नानीबाबूलाई नेपालीमा कुनै गणितीय अंक साेध्नु भए हुन्छ । केही दिन पहिले मेरा सहकर्मीले आफ्नाे आठ बर्षे पुत्रलाई माेवाइलकाे अन्तिम अंक' अन्ठाउन्न' टिप्न भनेछन्, तर पुत्रले' अठ्ठत्तर' टिपेकाे कुरा हाँस्दै सुनाएका थिए ।
बालकमन निर्मल र चञ्चल हुन्छ । मनमा अनेकौं काैतूहलताले बास गरेका हुन्छन् । नयाँ नयाँ कुरा जान्ने चाैंचाैंले हैरान गरेकाे हुन्छ । परिणामस्वरूप कलिलाे मस्तिष्कमा पारिवारिक र शैक्षिक वातावरणले प्रभाव पार्छ । अहिलेकाे वातावरणले नै बालबालिकालाई नेपाली भन्दा अङ्ग्रेजीतर्फ धकेल्छ, तब कसरी बालबालिकालाई मात्रै दाेष दिने ?
दिनप्रतिदिन आफ्ना छाेराछाेरीले नेपाली भन्दा टुटेफुटे अङ्ग्रेजी ओकलेकोमा गर्वबाेध गर्ने अभिभावककाे संख्या बढ्दै गएकाे छ । उनीहरु अङ्ग्रेजी बाेल्नुलाई नै शैक्षिक गुणस्तर ठान्न थालिसके ।
विद्यालय परिसरमा नेपाली बिषयबाहेक अन्य विषयमा नेपाली बाेल्न मनाही गरेर अभिभावककाे अङ्ग्रेजीप्रतिकाे झुकावलाई धेरै निजी विद्यालय र केही सामुदायिक विद्यालयले झन- झन बढावा दिन थालेका छन् । मानाैं, अङ्ग्रेजी पढाएपछि शिक्षा गुणस्तरीय भैहाल्छ । स्मरण रहाेस्, पंक्तिकारकाे आसय अङ्ग्रेजी भाषाकाे विरोध गर्ने हाेइन ।
भूमण्डलीकरणको युगमा सबै भाषाकाे आ-आफ्नो ठाउँमा महत्त्व छ । अध्ययन, अनुसन्धानका लागि एउटा भाषा मात्रै पर्याप्त हुँदैन । भाषिक दक्षताले उच्च शिक्षा र अवसरका ढाेकाहरु खाेलिदिन्छ । निश्चय पनि, अङ्ग्रेजी एक अत्यावश्यक अन्तर्राष्ट्रिय सम्पर्क भाषा हाे । याे ६७ सार्वभौम र २७ गैरसार्वभौम मुलुककाे राष्ट्रभाषा हाे ।
उसाे त मातृभाषी अनुसार अङ्ग्रेजी तेस्रो स्थानमा पर्छ । जबकि संसारमा म्यान्डरिन चिनियाँ र स्पेनी भाषा क्रमशः प्रथम र दाेस्राे स्थानमा पर्छन् । क्रमशः हिन्दी, अरबी, बंगाली, पाेर्चुगली भाषाकाे स्थान छ । करिब ५ औं शताब्दीतिर इङ्ल्याण्डमा उत्पन्न भएको अङ्ग्रेजी भाषा सधैं अन्तर्राष्ट्रिय भाषा रहिरहन्छ भनेर यकिन ठाेकुवा गर्न सकिन्न ।
विश्वमा ६००० बढी भाषाहरु अस्तित्वमा छन् । संस्कृत भाषालाई संसारकाे सबैभन्दा पुराना भाषा मानिन्छ, जसलाई "देव भाषा" पनि भनिन्छ । यूरोपियन भाषा संस्कृत भाषाबाटै प्रेरित भएको पाइन्छ, जहाँकाे अधिकांश विश्वविद्यालय र शैक्षिक संस्थामा संस्कृत भाषा अध्ययन, अध्यापन गरिन्छ, गराइन्छ ।
याे लेख लेखिरहँदा मलाई एउटा घटनाले पछ्याइ रहेछ । उक्त सन्दर्भ यहाँ उल्लेख गर्नु प्रासंगिक नै हाेला । प्रसंग केही बर्ष पहिलेकाे हाे । काठमाडौं-सुर्खेत यात्रा गर्ने क्रममा एकजना नेपाली युवती र मेराे सिट सँगै पर्याे । शारीरिक संरचनामा निकै सुन्दर र चञ्चल देखिने उनी, उमेरले त्यस्तै १७,१८,१९ की हुँदी हुन् । "एक्सक्युज मी, क्यान आइ ह्याप अ वाेटल अफ वाटर, प्लिज ?"
करिब एक घन्टाकाे माैनता ताेड्दै उनले मेराे हातकाे वाेतलतर्फ इंगित गर्दै अभिव्यक्त गरेका शब्दहरु अक्षरश: यिनै हुन् । उनकाे प्यासले हाम्रो अधाेषित माैनव्रत ताेडिदियाे । हामीबीच बेलाबेला छाेटाछाेटा कुरा हुन्थे । उनी भने अंग्रेजी मिश्रित नेपाली ओकल्थिन्, म भने विशुद्ध नेपालीमै जवाफ फर्काउँथें ।
उनकाे अभिव्यक्ति सुन्दा लाग्थ्यो-अङ्ग्रेजी मिश्रित नेपाली बाेल्ने नव संस्कृति नेपाली समाजमा झांगिँदै छ । परिस्थिति अनुरुप आफूलाई परिवर्तन गर्दै अघि बढ्नु उचित हाे । तर परिवर्तनकाे नाउँमा आफ्नो भाषा, धर्म, दर्शनलाई वेवास्ता गर्नुपर्छ र ? समाजिक सञ्जाल हाेस् या त प्रत्यक्ष संवाद नै किन नहाेस् अधिकांश मानिसले आफ्नो भाषाप्रति गरेकाे हेलचेक्य्राइँ देख्दा अफसाेच लाग्छ ।
अंग्रेजी भाषाकाे प्रभाव १७ औं शताब्दीबाट सुरु भएको बेलायती साम्राज्यकाे उपनिवेशवादसँगै फैलिएको पाइन्छ । दाेस्राे विश्व युद्धपछि उपनिवेशवादबाट मुक्त पाएका एशियाली, अफ्रिकी देशहरुले पाश्चात्य शिक्षा पद्धति अंगाले ।
पश्चिमा कला, साहित्य, संगीत, इतिहास, भाषा, धर्म, दर्शन, उत्पादित ज्ञान र वस्तुलाई आफ्नै माैलिक भाषामा अनुवाद गरे । आफ्नै भाषालाई पठनपाठनकाे माध्यम बनाए । सभ्यताको शिखरतिर लम्किरहेका युरोपेली मुलुकहरु र भर्खरै नेतृत्वमा आएको सर्वशक्तिमान अंग्रेजी भाषी राष्ट्र अमेरिकाकाे कानुनी प्रणाली र आर्थिक नीति बुझेर केहीले आफ्नो शासन पद्धति पनि बसाले ।
नेपालमा खासगरी २००७ सालकाे प्रजातन्त्र स्थापनापछि पश्चिमा समाज र संस्कृतिको प्रभाव बढ्याे । भर्खरै उपनिवेशवादबाट मुक्त पाएकाे छिमेकी मुलुक भारतसँगकाे तीव्र आवगमनले पनि यसलाई बढावा दियाे । पश्चिमीकरण नै आधुनिकता हाे भन्ने भ्रममा हामीले पश्चिमा लवाइखुवाइ, कला, साहित्य, संगीत, धर्म, दर्शन र शिक्षा प्रणालीकाे अनुसरण गर्यौं । अझैं गर्दैछौं ।
असल विचारलाई स्वागत गर्नु पनि पर्छ । तर, के आधुनिकता भनेकै पश्चिमीकरण हाे ? यसकाे जवाफ समाजशास्त्रहरुले नै देलान् । मेराे बुझाइमा , आधुनिकता भनेको समयकाे गतिअनुरुप आफ्नो समाजिक र सांस्कृतिक पक्षकाे नवीनतम् विकास हाे, जसले परिवार, समाज र राष्ट्रलाई नाैलाेपनकाे अनुभूति दिलाउँदै सभ्यतातिर डाेर्याउँछ ।
अहिले अधिकांश बिषयकाे शिक्षण अङ्ग्रेजीमै गराइन्छ । हुँदाहुँदै "समाजिक" बिषय जुन प्रत्यक्षत: समाज, संस्कृति र राज्यव्यवस्था सँग जाेडिन्छ त्यसलाई समेत अंग्रेजीमा अनुवाद गरी शिक्षण गराउनु विडम्बनाकाे कुरा हाे । फलतः प्रत्येक बर्षकाे माध्यमिक तहको अन्तिम परीक्षामा तुलनात्मक हिसाबले समाजिक बिषयमा विद्यार्थीले न्यून अंक प्राप्त गर्छन् ।
नेपालीमा अन्तक्रिर्या, छलफल, बहसमार्फत अध्ययन गर्ने व्यवहारिक बिषयमा विद्यार्थीलाई अंग्रेजीमा कण्ठ गर्न लगाउँदा उसले बिषयबस्तुबारे पर्याप्त ज्ञान पाउँदैन । तब उसले कसरी आफ्नाे समाज, संस्कृति, राज्यव्यवस्थाबारे बुझ्छ ? अनि नबुझी उसले कसरी दायित्वबाेध गर्छ ? यतिमात्रै हाेइन, सामुदायिक विद्यालयकाे तुलनामा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरु नेपाली बिषयमा समेत एकदमै कमजाेर देखिएका छन् । उनीहरुकाे नेपाली शब्दभण्डार सीमित छ ।
धेरै युराेपका विकसित देशको प्रमुख भाषा अंग्रेजी हाेइन । उनीहरुकाे शिक्षा प्रणालीकाे माध्यम आफ्नै भाषा हाे । नेदरल्यान्ड, स्वीडेन, स्पेन, डेनमार्क, जर्मन, पाेल्याण्ड, पाेर्तुगल जस्ता गैर अङ्ग्रेजी मातृभाषी देशहरु अङ्ग्रेजी भाषा क्षमताको मूल्यांकनमा अग्रणी रहँदै आएका छन् ।
ग्लोबल इन्राेभेसन इन्डेक्स अनुसार नयाँनयाँ कुराकाे खाेज, अनुसन्धान गर्ने देशहरुकाे सूचीमा माथिल्लो स्थान ओगट्न सफल भएका स्विजरल्याण्ड, स्वीडेन, दक्षिण काेरीया, सिंगापुर, डेनमार्क, जापान, इजरायल, जर्मन जस्ता देशहरुकाे पनि प्रमुख भाषा अंग्रेजी हाेइन । स्पष्ट भयो, अंग्रेजी भाषा क्षमता वृद्धि गर्न र खाेज, अनुसन्धानका क्षेत्रमा अगाडि हुन अंग्रेजी भाषा नै शिक्षण माध्यम हुनुपर्दैन ।
बरु राज्यले अंग्रेजी भाषामा दक्ष हुन विद्यार्थीलाई प्राेत्साहन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरु स्थापना गर्नुपर्छ । खाेज, अनुसन्धानका लागि बाह्य लगानीकर्ता र वैज्ञानिकलाई आक्रर्षित गर्ने वातावरण बनाउनुपर्छ साथै देशले यस्ता क्षेत्रमा कुल ग्राह्यस्थ उत्पादनकाे केही प्रतिशत लगानी गर्नुपर्छ । बिडम्वना, हामी भने अंग्रेजीलाई नै साध्य ठानिरहेका छाैं ।
भाषा शब्दकाे विस्तार हाे । अर्थपूर्ण शब्दहरुकाे सम्मिलन वाक्यकाे विस्तृत रुप । भाषा मानव जातिको सम्पत्ति हाे । भाषाकै सेतुमा टेकेर मानव सभ्यता आजकाे युगसम्म आइपुगेको हाे । भाषाकाे अनुपस्थितिमा हामीले ज्ञान, संस्कार, संस्कृति अनुभूति, अनुभव, कल्पना र सिर्जनालाई स्पष्ट अभिव्यक्त र ग्रहण गर्न असमर्थ हुन्छौं । उसाे त केही हदसम्म मुखमुद्रा र शरीरको हाउभाउ, चित्र र रेखांकनबाट, संकेत र इसाराबाट पनि केही नबाेली भावना व्यक्त गर्न सकिन्छ तर यी सबैकाे सीमा छ ।
नेपाल बहुसांस्कृतिक मुलुक हाे । करिबकरिब १२५ जातजाति र भाषा आयोगकाे प्रतिवेदन अनुसार १३१ भाषाकाे साझा फूलबारी हाे नेपाल । यस्ताे विविधतायुक्त समाजकाे महत्त्व हामीले कहिले बुझ्ने ? समाजकाे बनाेट आफ्नो देशको इतिहास, मानव सभ्यता जस्ता आयामबारे शिक्षा प्रदान गर्ने अधिकांश स्कुल, कलेज, विश्वविद्यालयहरु भष्ट्रचार र राजनीतिकरणकाे केन्द्र बन्नु दु:खद पक्ष हाे ।
शिक्षा नै विकासकाे मेरुदण्ड हाे, जसले मानिसमा अन्तर्निहित ज्ञानलाई विज्ञानमा रुपान्तरण गर्छ । हाम्रो शिक्षा, शिक्षा नीति चाहिँ व्यवहारिक भन्दा बढी सैद्धान्तिक जस्ताे लाग्छ ।
अनि लाग्छ, हाम्राे शैक्षिक संस्थाले त्यस्ताे जनशक्ति उत्पादन गरिरहेछ, जाे आफ्नो भन्दा पाश्चात्य देशहरुकाे इतिहास, भाषा, कमाइ, लुवाइखुवाइ, बसाइँमा बढी आक्रर्षित हाेस् । लेखकाे आरम्भमै सानी नानी जस्तै "बा" शब्दको शाब्दिक अर्थ नबुझ्नेहरुकाे संख्या दिनानुदिन बढ्दै गए हाम्रो अस्तित्व के हाेला ? भाषा नै पहिचान हाे । पहिचान नै अस्तित्वकाे सार्थकता हाे । पहिचानबिनाको अस्तित्व पनि के अस्तित्व ?