मंगलवार, फाल्गुण १० २०७८
खेमराज पुरी
खोटाङ, १० फागुन । प्रयास नेपालले खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा गठित ११ वटा कृषक समुह वडा र गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
२०७२ साल यता कृषकलाई आत्मनिर्भर बनाउनका लागि कृषक समुह गठन गरेर तरकारीको बीउबिजन तथा बेर्ना उपलव्ध गराउँदै आएको प्रयास नेपालले ‘फेजआउट’ भएपछि सोमबार कृषक समुह वडा तथा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेल, महेश्वरीका वडाध्यक्ष दिलबहादुर राई, गाउँपालिकाका पशु शाखा प्रमुख प्रमोद राजभण्डारी लगायतको उपस्थितिमा कृषक समुह हस्तान्तरण गरिएको हो ।
जी–फाउन्डेसनको आर्थिक र प्राविधिक सहयोगमा प्रयास नेपालले ‘फेजआउट’ हुने समूहलाई विधान, मकै छोडाउने कन्सेलर मेसिन र समुहसँग आवद्ध भई काम गरेकोमा समुहलाई कदर–पत्र प्रदान गरेको छ ।
बिदेसिने युवालाई मध्यनजर गर्दै कृषि कर्ममा लाग्नका लागि प्रेरित गर्ने उद्धेश्यले २०७२ सालदेखि कार्यक्रम सञ्चालन गरिएको प्रयास नेपालका कार्यक्रम अधिकृत निलु थुलुङ राईले बताईन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुजेलले आगामी दिनमा कृषक समूहलाई निरन्तरता दिनका लागि गाउँपालिका तत्पर रहेको बताईन् । प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले ‘सधैँ कृषकको साथ, सहयोग र संवादमा निरन्तर रहने उल्लेख गरिन् ।