शुक्रवार, फाल्गुण १३ २०७८
नेपाल वाइड
खोटाङ, १३ फागुन । जिल्ला प्रशासन कार्यालय खोटाङमा दरबन्दी अनुसार कर्मचारीको व्यवस्था नहुँदा सेवा प्रवाह असहज भइरहेको छ । कार्यालय सहयोगीदेखि सह–सचिवसम्म गरी २३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारीको पदपुर्ती नहुँदा सेवा प्रवाह कठिन भएको हो ।
नागरिकता, राहदानी लगायतको सेवाका लागि बाक्लो चाप हुने जिल्ला प्रशासन कार्यालयको दैनिक कामकाज हाल करारका ९ जना गरी १९ कर्मचारीले धानिरहेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा सह–सचिव (रा.प. प्रथम श्रेणीको) प्रमुख जिल्ला अधिकारी रहनेगरी दरबन्दी कायम गरिएको थियो । त्यस यता प्रशासनमा शालिग्राम शर्मा पौडेल बाहेक अन्य सह–सचिव तहका कार्यालय प्रमुख पठाइएका छैनन् ।
सह–सचिवको पद रिक्त हुँदा उप–सचिव (रा.प. द्धितिय) तहको सहायक प्रमुख जिल्ला अधिकारीले नै प्रमुख जिल्ला अधिकारीको भूमीका निर्वाह गर्दैआएका छन् ।
यस्तै, प्रशासकीय अधिकृत (रा.प. तृतीय)को दुई वटा दरबन्दीमध्ये एउटा दरबन्दी रिक्त छ । प्रशासकीय अधिकृतले नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा प्रवाह गर्नुपर्ने वाध्यता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, पाँच जना नासुको दरबन्दी रहेको प्रशासनमा एकजना नासुलाई काजमा ल्याएर पदपुर्ती गरिएको छ । प्रशासनमा एउटा लेखापालको दरबन्दी मात्र पुर्ती छ । दुई जना कम्प्यूटर अपरेटरको रिक्त दरबन्दीमा करारमा कर्मचारी नियुक्ती गरेर पदपुर्ती गरिएको छ ।
३ जना खरिदारको दरबन्दी रहेकोमा एक जनाको सरुवा भइसकेको र रमाना लिन मात्र बाँकी छ । हलुका सवारी चालकको एउटा दरबन्दीमा करारमा कर्मचारी राखिएको छ । यस्तै, कार्यालय सहयोगीको ७ जनाको दरबन्दी रहेको कार्यालयमा एक जना स्थायी र अन्य करारका कर्मचारी कार्यरत छन् ।
जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामको लोड परिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘दरबन्दी अनुसार कर्मचारी कम छन् । भएका पनि सरुवा लिएर जान खोजिरहेका छन्, सेवा प्रवाह असहज छ,’ सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘कामको चाप अधिक छ । कामको लोडका कारण अरु कर्मचारी आउन मान्दैनन् । लोकसेवामा आवश्यक कर्मचारी माग गरेका छौँ ।’
प्रशासनबाट सरुवा भएर जाने कर्मचारीले रमना पाउने अवस्था छैन । अन्य मन्त्रालय अन्तरगतको कार्यालयमा सरुवा जान चाहने कर्मचारीलाई गृह–मन्त्रालयले सरुवा नदिएको कर्मचारी बताउँछन् ।
जसले कर्मचारीको मनोवलमा समेत ठेस पु¥याइरहेको छ । कतिपय कर्मचारी हत्तपत्त पहाडी क्षेत्रका कार्यालयमा जान मान्दैनन् । गए पनि बढुवा हुने नम्बरका लागि जान्छन् । कामको अधिक चाप हुने प्रशासन कमैको रोजाईमा पर्ने गरेको छ ।