Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पाठ्यपुस्तकमा चार भाषामा संवाद

    दिक्तेल रुपाकोट मझुवागढी : हराइसकेको ‘भाका बस्ने चलन’ स्थानीय पाठ्यक्रममा

    दिक्तेल रुपाकोट मझुवागढी : हराइसकेको ‘भाका बस्ने चलन’ स्थानीय पाठ्यक्रममा


    • सोमवार, फाल्गुण १६ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी : हराइसकेको ‘भाका बस्ने चलन’ स्थानीय पाठ्यक्रममा
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, १६ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालकाले लोप भइसकेको ‘भाका बस्ने चलन’लाई स्थानीय विषयको पाठ्यपुस्तकमा समावेस गरेको छ ।

    जिल्लाको उत्तरी क्षेत्रमा करिब चार दशक अघिसम्म चलनमा रहेको ‘भाका बस्ने चलन’लाई नगरपालिकाले तयार पारेको कक्षा ४ को स्थानीय विषयको पाठ्यपुस्तकमा समावेश गरिएको हो ।

    चार दशकअघि युवायुवती समुहमा भेला भएर निश्चित ओडारमा गीत गाउने र नाच्ने गरिन्थ्यो । शर्तसहित गाउने र नाच्नेक्रममा हार्नेले जित्नेलाई विवाह गरेर घर लैजाने प्रचलन थियो । हार्ने केटी दुलही बनेर केटाको घर जानुपथ्र्यो भने हार्ने केटा घर ज्वाईँ बनेर बस्नुपथ्र्यो । यसलाई जिल्लामा ‘भाका बस्ने चलन’का रुपमा चिन्ने गरिन्छ ।

    भाका बस्ने क्रममा दुबैतर्फका माईतीचेली अनिवार्य भेला भएका हुन्थे । चिठ्ठीका माध्यमबाट खबर आदान–प्रदान गर्दै युवा युवती विभिन्न गाउँबाट भाका बस्न भेला हुन्थे । भाकामा बस्न जाने छोराछोरीलाई आमाले खिर, सेल रोटी, रक्सी जस्ता परिकार बनाएर पठाउने प्रचलन थियो । हुने खानेहरु घोडामा चढेर भाका बस्न पुग्थे । कैयौंका घरबार जोडिन्थे । हाल यो परम्परा इतिहास बनिसकेको छ । तर नगरपालिकाले स्थानीय विषयको पाठ्याक्रममा भाका बस्ने मौलिक परम्परालाई विषयवस्तु बनाएको हो ।

    नगरपालिकाले पाँच वर्षे कार्यकाल सकिन लाग्दा १४ फागुनमा स्थानीय विषयको कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यापुस्तक लोकार्पण गरेको हो । प्रकाशित पुस्तक नगरभित्रका १५ वडाका ९३ वटा सामुदायी विद्यालयमा पठन–पाठन सुरु गर्नेगरी वितरण गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।

    पाठ्यपुस्तकमा हाम्रो वरपर, हाम्रा चालचलन र परम्परा, हाम्रा रमणीय स्थल, हाम्रा आम्दानीका श्रोत, स्वास्थ्य, नैतिकता र व्यक्तित्व विकास, खेलकुद तथा मनोरञ्जन लगायतका एकाइ समावेश छन् ।

    यस्तै, ढिकी जाँतोदेखि किरात खानाका परिकार, खाँडीका कपडा, हाकुपटासी, निगुरो, सिस्नुका फाईदा, खोसेलाको उपयोग, आलु खेती, सिकर्मी डकर्मी पेसा, च्याउ खेती, रेडपाण्डा, कौसी खेती, बाँसका फाइदा, ट्राउट माछा पालन, स्ट्रबेरी खेती, अलैंची खेती, गुराँसको महत्व, अग्र्यानिक खेती लगायतका पाठ्यवस्तु समेटिएका छन् ।

    पाठ्यपुस्तकमा चार भाषामा संवाद

    नगरको स्थानीय विषयको पाठ्यपुस्तकमा सम्पाङ, चाम्लिङ, तामाङ, शेर्पा र दुमी भाषाको संवाद समावेश गरिएको छ । स्थानीय विषयको पाठ्यपुस्तक कक्षा ३ मा साम्पाङ भाषा, कक्षा ४ मा चाम्लिङ भाषा र तामाङ भाषा तथा कक्षा ५ मा शेर्पा र दुमी भाषा संवाद समावेश गरिएको छ ।

    सम्वन्धित भाषी विद्यार्थीको बाहुल्यता भएको बाहेकका विद्यालयमा अन्य भाषाको संवादको पठन–पाठन सहज नहुने कतिपय शिक्षकको टिप्पणी छ । यस्तै, पाठ्यपुस्तकमा नगरभित्रका धार्मिक स्थल, देबी देवताको थानलाई बढी महत्व दिएको पाइएको छ ।

    सम्बन्धित समाचार