सोमवार, फाल्गुण १६ २०७८
नेपाल वाइड
खोटाङ, १६ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ ।
बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।
बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवशरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा बिएड तेश्रो वर्ष र छोरी रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छिन् ।

अझै पनि हाम्रो समाजमा उच्च शिक्षाका लागि छोरालाई मात्र प्राथमिकता दिने प्रचलन छ । विद्यालय वा क्याम्पस तहमा पढिरहेकी छात्राको अध्ययन उसको विहेसँगै रोकिन्छ । तर, बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउनका लागि दिलोज्यान दिएकी सासु र आमालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेलले बताए । बुहारी पढाउने देबीमायाँ र छोरीलाई क्याम्पस तह पढाउने बिष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ सन्देश दिएको क्याम्पसले जनाएको छ ।
क्याम्पसको वार्षिकोत्सवको अवशरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको सभापतित्व एवं क्याम्पस संरक्षक समितिका संयोजक हरि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समला राई, कार्यपालिका सदस्य पुण्यकुमारी मगर, कार्यपालिका सदस्य रिजन भुजेल, शिक्षा शाखा प्रमुख तिर्थराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।